काठमाडौँ- वैदेशिक रोजगारमा जाने कामदारले गाँस काटेर जम्मा गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषको करौडौँ रकम जथाभावी र अनुत्पादक रुपमा खर्च गरेको पाइएको छ।
बोर्डले गत वर्ष वैदेशिक रोजगारका लागि तालिम सञ्चालनका नाममा छुट्याएको १५ करोड रुपैयाँमध्ये १२ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको पाइएको छ। वैदेशिक रोजगारीमा जानेले कल्याणकारी कोषमा जम्मा गर्ने १ हजार रुपैयाँ कामदारकै हितमा खर्च गर्नुपर्ने भए पनि बोर्डले तालिम सञ्चालनका नाममा ठूलो रकम अनियमितता गरेको पुष्टि भएको हो।
वैदेशिक रोजगारमा जाने कामदारलाई तालिम दिलाउन टेण्डर प्रक्रियामार्फत संस्था छनोट गरिएको थियो। देशसञ्चारलाई प्राप्त एउटा विशेष अनुगमन रिपोर्टमा १५ करोड रुपैयाँ खर्च गरी वैदेशिक रोजगारमा जानेका लागि तालिम सञ्चालन भन्दै करोडौँ रुपैयाँ अपलचन गरिएको पुष्टि भएको हो।
बोर्डले छानेका १५ संस्थाले यसरी तालिमका लागि आएको ठूलो रकममा अनियमितता गरेका हुन्:
युनिभर्सल टेक्निकल इन्स्टिच्यूट, काठमाडौँ
८० जनालाई सटरिङ्ग कार्पेन्टरको तालिम दिन यो संस्था छनोटमा परेको थियो। काठमाडौंको बुढानिलकण्ठस्थित पासीकोट, भक्तपुरको बालकोट र हेटौंडा उपमहानगरपालिका ४– मकवानपुरमा यसले तालिम सञ्चालन गर्यो। तर ८० जनालाई दिने भनिएको तालिममा जम्मा सहभागी ९ जना र प्रशिक्षकबिनै तालिम सञ्चालन गरेको भेटिएको थियो।
बुढानिलकण्ठमा २० जनालाई तालिम दिनुपर्नेमा घरको छतलाई तालिम गर्ने ठाउँ भनी देखाएको, सहभागीहरु सबै साइटमा काम गर्दै छन् भनेको, १ जना २० वर्षदेखिका डकर्मीलाई नै सहभागीका रुपमा देखाइएको थियो।
तालिम गर्ने भनिएको ठाउँमा कुनै पनि तालिम सामग्री नभएको रिपोर्टमा उल्लेख छ।
बालकोटमा २० जनालाई तालिम दिने भनिए पनि सहभागी संस्थाका कर्मचारीले तालिम सञ्चालन हुने ठाउँसमेत देखाउन मानेनन्। अनेक बहाना बनाई तालिम भएको ठाउँ देखाउन नमानेको र अन्तिममा सबै सहभागी काभ्रेपलान्चोक काममा गएको बताएका थिए। बुढानीलकण्ठ र बालकोटमा एकै समयमा (बिहान ६ बजेदेखि ११ बजेसम्म) तालिम सञ्चालन हुने भनिए पनि प्रशिक्षक एउटै व्यक्ति देखाएका थिए।
हेटौंडामा ८० जनालाई तालिम दिने भनिएको थियो। तर, तालिम सञ्चालन गर्ने जिम्मा स्थानीय ठेकेदारलाई दिएको, ठेकेदारले आफ्नो कामदारलाई प्रशिक्षार्थी भनी देखाएको पाइएको रिपोर्टमा जनाएको छ। कुनै पनि किसिमको तालिम सञ्चालन नगरेको अनुगमन टोलीले बोर्डलाई प्रतिवेदन बुझाएको थियो।
पुष्पा टेक्निकल इन्स्टिच्यूट प्रालि
प्लम्बरको तालिम सञ्चालनका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले यो संस्था छनोट गरेको थियो। काठमाडौं, रामेछाप, काभ्रे र मकवानपुरमा प्लम्बरको तालिम सञ्चालन गरिएको थियो।
काठमाडौंको टोखामा २० जनालाई तालिम दिने भनिए पनि ९ जना मात्रै सहभागी भएको पाइएको थियो। तर अनुगमन टोलीलाई देखाउनका लागि मात्रै तालिम सञ्चालन गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। अनुगमन टोलीले नाम मात्रको तालिम सञ्चालन भएको, उपस्थित सहभागीमध्ये धेरैजना वास्तविक सहभागी नभएको, प्रशिक्षकले प्रशिक्षणको नाटकमात्रै गरेको, तालिम सामग्री नभएको र कुनै पनि प्राक्टिकल नगरेको भेटिएको प्रतिवेदनमा उल्लेख गरेको छ।
रामेछापको मन्थलीस्थित कुनौरीमा ४० जनालाई तालिम दिनुपर्ने थियो। बिहान र दिउँसो गरी ४० जनाका लागि तालिम सञ्चालन गरेको भनिए पनि एक दिन दिउँसो र अर्को दिन बिहान अनुगमन गर्दा तालिम सञ्चालन भएको थिएन। तालिम सञ्चालन गरिएको भनिएको स्थानमा दुवैचोटि कोही पनि नभेटिएको अनुगमन टोलीले जनाएको छ।
रामेछापको रामपुरमा ८० जनालाई प्लम्बरको तालिम दिनुपर्ने भए पनि अनुगमनमा गएको टोलीलाई प्रशिक्षकको काम परेकाले विदा गरिएको बताइएको थियो। त्यहाँ पनि तालिम प्रभावकारी नभएको अनुगमन टोलीले रिपोर्ट बुझाएको थियो।
काभ्रेको पाँचखालमा ४० जनाका लागि तालिम दिने भनिएपनि ३६ जना सहभागी थिए। तालिम हल, उपकरण लगायत तालिमका लागि आवश्यक औजार न्यून भएको पाइएको थियो।
मकवानपुरको पदमपोखरीमा ४० जनालाई तालिम दिनुपर्ने भएपनि २५ जना रहेको बताइएको थियो। तर त्यहाँ पनि तालिमका लागि आवश्यक सामग्री नभएकाले तालिम नचलाएको अनुगमन टोलीले ठहर गरेको थियो।
गृस्नीमा मल्टी टेक्निकल ट्रेनिङ इन्ष्टिच्यूट
भक्तपुरको चाँगुनारायणमा दुई चरणमा गरी ४० जनालाई हाउसपेन्टिङको तालिम दिनुपर्ने थियो। पहिलो चरणमा ३ जना सहभागीहरु प्लम्बरको पनि तालिम लिइरहेका र १ जना सहभागी प्लम्बरको ठेकेदार नै रहेको पाइएको थियो। तालिम गर्ने ठाउँमा कुनै पनि तालिम सामग्री नभएको, ओजेटी गर्ने ठाउँमा ४ वटा ब्रस, २ जोर पन्जा र आधा बट्टा सेतो रङ्ग मात्र रहेको पाइएको अनुगमन टोलीले बताएको छ।
दोस्रो चरणमा पनि सहभागीहरु सबै साइटमा काम गर्दै छन् भनेको, पार्टिसन हुँदै गरेको हललाई नै तालिम गर्ने ठाउँ भनी देखाएको, तालिम गर्ने ठाउँमा कुनै पनि सामग्री नरहेको पाइएको थियो।
क्रिएटिभ स्किल नेपाल
बाराको सिमरामा २० जनालाई टेलरिङको तालिम दिनुपर्ने थियो। तर १६ जना मात्रै सहभागी रहेको र १० वटा मात्रै मेसिन थियो।
लघु व्यवसायिक परामर्श केन्द्र
यो संस्थाले हेटौंडाको हुप्राचौरमा १ सय ४० जनाका लागि सुरक्षा गार्डको तालिम सञ्चालन गरेको थियो। बिहान ५ देखि १० बजेसम्म तालिम सञ्चालन गरिने भने पनि ८:३० बजे अनुगमन टोली तालिमस्थल पुग्दा ८ बजे नै तालिम सकिएको बताएका थिए।
७०/७० जना गरी तालिम बिहान ३ घण्टा र बेलुका ३ घण्टा सञ्चालन गरिएको प्रशिक्षकको भनाइ थियो। कुनै पनि तालिम सामग्री नभएको र सैद्धान्तिक कक्षा मात्र सञ्चालन गरेको अनुगमन टोलीले जनाएको छ। प्रयोगात्मक कक्षाको नाममा सामान्य परेड मात्र गराएका र तालिमको अनुगमनमा गएको टोलीलाई समेत २ घण्टा झुलाएर तालिमस्थलमा पुर्याएका थिए।
थारुवान मल्टिस्किल इन्स्टिच्यूट प्रा.लि.
टीकापुर नगरपालिका वडा नं. १ कैलालीमा २० जनालाई टेलरिङको तालिम दिएको थियो। मुख्य प्रशिक्षक काठमाडौँ रहेको र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट अनुगमन आउने पूर्वजानकारी अनुसार बिहान ६ बजे देखि १२ बजेको सिफ्टमा २० जना सहभागी भए पनि दोस्रो सिफ्टमा जम्मा ७ जनामात्रै सहभागी भएका थिए।
सहभागीहरुसँग छलफल गर्दा अनुगमन टोली आउने भएकाले मात्र सहभागी भएको खुलासा भएको थियो। सिलाइकटाइ सेन्टरमा तालिम सञ्चालन गरेकाले सिलाइ मेसिन पर्याप्त भए पनि आवश्यक सामग्री सहभागी आफैँलाई ल्याउन लगाएको थियो।
फारटेक नेपाल प्रा.लि.
फारटेक नेपालले कैलालीका तीन ठाउँमा डकर्मी र एक ठाउँमा इलेक्ट्रिसियनको तालिम सञ्चालन गरेको थियो। डकर्मीको तालिमका लागि ६० दर्ता गरिए पनि ४० जना मात्रै सहभागी भएको पाइएको थियो। डकर्मीको तालिममा २२ जना दर्ता गरिए पनि १५ जना मात्रै सहभागी थिए।
लम्की चुहामा भएको तालिममा दैनिक ज्यालामा काम गर्नेलाई नै सहभागी बनाएको पाइएको थियो।
कैलारी गाउँपालिकाको पवेरामा भएको इलेक्ट्रिसियनको तालिममा सहभागीहरु साइटमा काम गर्न गएको, ३/४ वटा लिष्टी र पाइप, एउटा होल्डर, २ वटा जक्शन बोर्ड, अलिकति तार बाहेक कुनै पनि तालिम सामाग्री नभएको पाइएको थियो।
स्रोतका अनुसार प्राक्टिकलको लागि ठाउँ र सामाग्री नभएकोले सहभागीहरुले प्राक्टिकल गर्न नपाएको, तालिम दैनिक २ देखि ३ घण्टा मात्र सञ्चालन हुने गरेको अनुगमनमा भेटिएको थियो।
कैलालीकै छोटिपलियामा प्रशिक्षक नै बोर्डले उपलब्ध गराएको तालिम निर्देशिकाबारे जानकार नभएको पाइएको थियो। हसुलियामा प्रशिक्षक ठेकेदार रहेको, सहभागीहरु साइटमा काम गर्दै गरेको, धेरैजसो सहभागीहरु धेरै पहिलेदेखि नै डकर्मीको काम गर्दै आएको र सर्टिफिकेटको लागि मात्र यो तालिममा सहभागी भएको बताएका थिए।
बढिमालिका मल्टिप्रपोज कन्सल्टेन्सी प्रा.लि.
जानकी गाउँपालिका ७ मोतीपुर, कैलालीमा हाउस पेन्टिङको तालिम सञ्चालन गर्ने ठेक्का पारेको थियो यसले। यहाँ २० जनामध्ये १८ जना सहभागी थिए। प्रशिक्षक नै तालिमको विषयमा जानकार नरहेको र मुख्य प्रशिक्षक अनुपस्थित भएको पाइएको थियो।
दुई वटा तालिम एकै ठाउँमा सञ्चालन गरिएको समेत पाइएको थियो।
सिद्धार्थ टेक्निकल ट्रेनिङ इन्स्टिच्युट
ग्राम थान ६, नेताचोक, मोरङमा मेसनको तालिम सञ्चालन गर्ने ठेक्का परेको थियो। ८० जनाको नाम दर्ता गरेपनि साढे पाँच बजे देखि साढे १० बजेसम्म सञ्चालन गर्ने भनिएको तालिममा ९.३० बजे अनुगमन टोली पुग्दा तालिम सञ्चालन नभएको पाइएको थियो।
तालिम स्थानिय बोर्डिङ स्कुलमा हुने गरेकोले सहभागिहरु करिब ७.३० बजे आउने र ८ बजेतिरै फर्कने गरेको विद्यालयका कर्मचारीले बताएका थिए। विद्यालयमा कुनै प्रयोगात्मक सामाग्री नरहेको पाइएको थियो।
वर्ल्ड वाइड टेक्निकल प्रा.लि.
यो संस्थाले सुनसरीको हरिनगरा गाउपालिकास्थित केविलसा टोलमा मेसनको तालिम सञ्चालन गर्ने ठेक्का पारेको थियो। मेसन, हाउस पेन्टिङ र स्टिल फिक्सरको तालिमका लागि स्थानीय संस्थाका एक व्यक्तिलाई मौखिकरुपमा सहमति गरेर तालिम सञ्चालन गर्ने जिम्मा दिएको पाइएको छ। ६० जनाको नाम दर्ता गरिएको भएपनि मेसनको कक्षा उक्त दिन नभएको, ३० देखि ४० प्रतिशत मात्र नियमित उपस्थिति हुने गरेको तालिम संयोजकले बताएका थिए। तर हाजिरी भने सबैको नियमित गर्ने गरेको पाइएको थियो।
सुनसरीको हरिनगरा गाउँपालिका ६ धुस्कीमा स्टिलफिक्सरको तालिम सञ्चालन गर्नुपर्ने थियो। पहिलो समूहमा २० जनाको तालिमको समय ६.३० देखि ११ सम्म हुने भनिए पनि ८.३० बजे पुग्दा सहभागी नभेटिएको अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ।
कक्षा कोठामा कुर्सी, बोर्ड केही पनि नदेखिएको अनुगमन टोलीले जनाएको छ। सामान्य २ सुते रड बाँधेर एउटा पिल्लर जस्तो बनाएर राखेको र प्रशिक्षकका अनुसार हेल्मेट लगाएर सोही पिल्लरमा केही सहभागीलाई राखेर खिचेको फोटो देखाउँदै तालिमको प्रमाण भन्दै देखाएका थिए।
मल्टी ट्रेड टेक्निकल इन्स्टिच्यूट
मोरङको नेताचोक ६ ग्रामथान र हरिनगरा गाउँपालिका, सुनसरीमा हाउस पेन्टिङको तालिम सञ्चालन गरेको थियो। मेसनको तालिम र हाउस पेन्टिङको तालिम एकै स्थानमा एकै तालिम संयोजकले गर्ने भनिएपनि तालिममा सहभागी भने भेटिएको थिएन। विद्यालयको पर्खालमा सेतो रंग लगाइएको र सोही रंग लगाउन सिकाएको प्रशिक्षकले बताएका थिए। तालिम हल र सामग्री केही देखिएको थिएन।
दमक टेक्निकल एजुकेसन फाउन्डेसन प्रा.लि.
झापाको दमक, कमल गाउँपालिका र विर्तामोड इलेक्ट्रिसियनको तालिम दिने जिम्मेवारी पाएको यो संस्थाले पनि राम्रोसँग तालिम सञ्चालन नगरी पैसा बुझेको छ। पहिले भनिएको स्थानमा तालिम सञ्चालन नगरी अर्कै ठाउँमा तालिम भइरहेको बताए पनि यो संस्थाले तालिम सञ्चालन नगरेको अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ। इलेक्ट्रिसियनको पसलेलाई ल्याएर तालिमको सञ्चालक रहेको बताएको थियो।
नवदुर्गा सेक्युरिटी सर्भिस प्रा.लि.
सुनसरीको इनरुवामा सुरक्षा गार्डको तालिम सञ्चालनका लागि भन्दै ४० जना दर्ता गरेको थियो। अनुगमन टोलीलाई पहिले धेरै सहभागी भए पनि यतिबेला खासै आउन छाडेको सहायक प्रक्षिकले बताएका थिए। यो संस्थाले हाजिरी रजिष्टर समेत उपलव्ध गराउन सकेन। अनुगमन टोली आउने थाहा नभएकाले सहभागी बोलाउन नसकेको बताएको थियो।
राष्ट्रिय प्राविधिक शिक्षालय
नवलपरासीको कावासोती, गैंडाकोट र हुप्सेकोटमा स्काफोल्डिङको तालिम सञ्चालन गरेको थियो। पहिलोपटक तालिम अनुगमन गर्न जाँदा तालिमको ब्यानर पनि नभएको, सहभागी प्रशिक्षक कोही पनि नभेटिएको, दुई दिनपछि पुन: अनुगमन गर्न जाँदा १८ जना सहभागी उपस्थित गराएको थियो। ३ जना सहभागीलाई सिकाइको बारेमा अनुगमन समितिले बुझ्दा तालिम सञ्चालन भयो भनिएको १४ दिनपछि मात्र आएको तर हाजिर पहिलो दिनदेखि नै गरेको पाइएको थियो। घरको ४ तलामाथि केही फलामको डन्डीलाई डोरीले बाँधेर प्राक्टिकल गरेको देखाएको थियो। प्रवद्र्धन बोर्डको तालिम म्यानुअल अनुसार तालिम नचलाएको पाइयो र तालिम गर्ने भनिएको ठाउँमा कुनै पनि तालिम सामग्री नभएको प्रतिवेदनमा उल्लेख छ। हुप्सेकोटमा भने बिहानमा २० जना सहभागी भएको भनी झुठो जानकारी दिएको र २० जना सहभागीको नक्कली हस्ताक्षर बनाएर राखेको भेटिएको थियो।
नेपाल इन्स्टिच्यूट अफ टेक्निकल एण्ड भोकेसनल ट्रेनिङ
मध्यविन्दु नगरपालिका, नवलपरासीमा मेसनको तालिम सञ्चालन गरेको थियो। मेसनको ३ वटा तालिम स्थलमा अनुगमन गर्दा एउटा पुस्यौनीमा सञ्चालन भएको तर तालिमको १३ दिनसम्म पनि प्राक्टिकलमा नलगिएको र कुनै तालिम सामग्री पनि नभएको पाइएको थियो। मध्यविन्दुमा २ वटा तालिम अनुगमन गर्दा १ वटामा ११ जना र १ वटामा कोही सहभागी नै नभएको पाइएको अनुगमन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ।
साभार – देश सन्चार डट कम