तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले विभिन्न महत्वाकांक्षी निर्णयहरु सहित गाउँपालिकाका लागि अत्यावश्यक १४ वटा विधेयकहरु एकैपटक पास गरेको छ । साता यता निरन्तर छलफलपछि दुई दिनसम्म चलेको दोश्रो गाउँसभा तथा पहिलो हिउँदे अधिवेशनले बुधबार गाउँपालिकाका लागि अत्यावश्यक रहेका १४ वटा विधेयकहरु पास गरेको हो ।
गाउँपालिकाले विभिन्न महत्वपुर्ण विषयमा एघार वटा कार्यक्रमिक तथा सात वटा नीतिगत निर्णयहरु समेत पास गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।

गाउँ सभाले प्रशासनिक, प्राविधिक कर्मचारी व्यवस्थापन, स्थानीय राजपत्र प्रकाशन, आधार तथा माध्यमिक शिक्षा व्यवस्थापन, पुर्वाधार व्यवस्थापन, एफ.एम.रेडियो व्यवस्थापन, बजार अनुगमन र कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धी महत्वपुर्ण विधेयकहरु पास गरेको छ ।

यस्तै सहकारी, पदाधिकारीको आचारसंहिता, आर्थिक विनियोजन, ‘घ’ वर्गको निर्माण व्यवसाय इजाजत, न्यायिक समिति उजुरी तथा कारवाही र बालबालिका सम्बन्धी विधेयक समेत सर्वसहमतिले पारित गरेको प्रवक्ता नेपालीेले जानकारी दिनुभयो ।

गाउँपालिकाले छथरबाटै एफ.एम. रेडियो सन्चालन गर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले राजनीति गर्न नपाउने, विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र गाउँपालिकाको समेत संयूक्त सहकार्य र प्रयास सुरु गर्ने लगायत निर्णयहरु गरेको छ । गाउँपालिकाले विभिन्न एघार वटा कार्यक्रमिक निर्णय समेत गरेको प्रवक्ता नेपालीले बताउनुभयो ।

यस्तै छथर गाउँपालिकाले २५ शैयाको अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । निर्माणाधीन सिधुवा–शुक्रबारे सडक तोकिएको समयमा मापदण्ड बमोजिम कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र नियमनकारी निकायलाई ध्यानाकर्षण गराउने, तमोर जलाशययुक्त आयोजना निर्माणमा प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो ।

गाउँ सभाले गाउँपालिकामा रहेको प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नति गर्न गाउँपालिकामा २५ शैयाको अस्पताल स्थापनाका लागि प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको प्रवक्ता नेपालीले जानकारी दिनुभयो । गाउँपालिकाले आफुलाई आवश्यक पर्ने पुर्वाधार निर्माण तथा व्यवस्थापनका लागि जग्गा अधिग्रहण र सार्वजनिक जग्गामा संरचना निर्माणका लागि समेत काम अघि बढाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया