धादिङ । धादिङका सोम प्रसाद मुडवरी राम्रोसँग आँखा देख्न सक्दैनन् । २०६३ साल बैशाखमा गोंगबुमा भएको आन्दोललको नेतृत्व गर्दै राजतन्त्रविरुद्ध नारा लगाउँदै थिए, टाउको दायाँ भागमा प्रहरीको गोली लाग्यो ।

टाउकोमा गोली लागेका मुडवरीको जीवन त जोगियो तर, आँखाको दृष्टि भने सधैंका लागि गुमाउनु पर्यो । ‘आन्दोलनमा लागेको गोलीले आँखामा असर प¥यो राम्रोसँग देख्न सक्दिन्’ मुडवरीले लोकान्तरसँग भने, ‘जीवन चलाउन निकै गाह्रो भएको छ ।’

उनी अहिले काठमडौंमा खुकुरीको व्यापार गरेर जीविका चलाइरहेका छन् । अलिअलि मात्रै आँखा देख्ने मुडवरी दैनिक बल्लतल्ल अरुको पसलमा खुकुरी लगिदिने काम गर्छन् । त्यसैबाट आएको आम्दानीले उनले जसोतसो जीविका चलाएका छन् ।

राज्यले जनआन्दोलनका घाइतेहरुलाई वेवास्ता गरेको उनको आरोप छ । जनआन्दोलनमा घाइते भएकाहरुले रोजगारीको अवसर नपाएको भन्दै उनले सरकारले आफूहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखे ।

‘हामीले राज्यसँग सित्तैमा खाना र सुविधा मागेका होइनौं । हामीलाई सित्तैमा केही पनि चाहिँदैन । हामीलाई हाम्रो क्षमता अनुसारको जीवन धान्न सक्ने रोजगारी देऊ सरकार ! घाइते र शहीदका परिवारलाई बाच्ने वातावरण  देऊ,’ उनको गला अवरुद्ध भयो ।

उनीसँगै आन्दोलनमा होमिएका धादिङ जीवनपुरका नन्द प्रसाद रुपाखेती पनि जनआन्दोलनमा घाइते भएका व्यक्ति हुन् । उनले अहिले पनि  दैनिक तीन सय रुपैँयाको औषधि खानुपर्छ । जनआन्दोलन सफल भए पछि शुरुमा सरकारले निःशूल्क उपचार गरिदिएको भए पनि अहिले भने आफैंले औषधि किनेर खानुपर्ने उनको बाध्यता छ ।

जीवन धान्नका लागि रुपाखेती काठमाडौंको एक चप्पल कारखानामा विगत आठ वर्षअघिदेखि काम गर्दै आएका छन् । आफूले कमाएको पैसाले महिनामा औषधि खान समेत मुश्किल परेको उनले सुनाए ।

२०६२/६३ को जनआन्दोलनका घाइते तथा शहीद परिवारका आफन्तलाई सरकारले निःशूल्क शिक्षा, औषधि उपचार र रोजगारीको व्यवस्था गर्ने भनेको थियो । तर मुडवरीले भने आफूले सरकारबाट कुनै अवसर नपाएको गुनासो गरे ।
‘हाम्रो टाउकोको खुड्किलो बनाएर अहिले देशमा जनताका छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री  बने । ११ वटा सरकारहरु परिवर्तन भयो,’ रुपाखेतीले भने, ‘तर हामी जनआन्दोलनका घाइतेहरु भने कष्ठकर जीवन चलाउँदै आएका छौं । हामीलाई न सकारले वास्ता गरेको छ न त कुनै राजनीतिक दलहरुले नै हेरेका छन् ।’

तपाईको प्रतिक्रिया