खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा रासायनिक मल युरिया मिसावट भएको भन्दै सिलबन्दी गरिएको पसलबाट चिनीको नमुना संकलन गरेको छ ।
चिनीमा रासायनिक पदार्थ युरिया मिसावट भएको पाइएको भन्दै ग्राहकले सूचना दिएपछि १२ दिनअघि सिलबन्दी गरिएको दिक्तेलबजारमा रहेको पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सको पसल तथा गोदामबाट मंगलबार ल्याब टेष्टका लागि चिनीको नमूना संकलन गरिएको छ ।
नमुनाका रुपमा ७ वटा बट्टामा संकलन गरिएको चिनी ल्याब टेष्टका लागि खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागमा पठाइने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।
ल्याब टेष्ट रिपोर्ट नआएसम्म पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेलाई अनुसन्धानकै घेरामा राखिने प्रशासनले जनाएको छ ।
एक ग्राहकले गएको चैत ३० गते शुक्रबार खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको मौखिक जानकारी दिएपछि प्रशासनले पसल तथा गोदामलाई सिलबन्दी गरेको थियो ।