तेह्रथुम । जिल्लामा किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजार पहुँच विस्तारका लागि ७ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । डेनमार्क सरकारको सहयोगमा सन्चालित उन्नति समावेशी वृद्धि कार्यक्रमले चार वर्षको अवधिमा किसान समेतको साझेदारीमा यत्तिका धेरै रकम लगानी गरेको छ । कार्यक्रम अन्तर्गत जिल्लामा उत्पादन हुने अलैंची, दूध, अदुवा र चियाको मूल्य शृंखलामा आधारित भएर रकम लगानी गरिएको छ ।

परियोजनाले जिल्लाका १० वटा निजी फार्म, नर्सरी, सहकारी र डेरी उद्योगमा गरी त्यतिका रकमको लगानीमा काम गरेको उन्नति परियोजनाका कृषि व्यवसाय विज्ञ रमेश भण्डारीले बताउनुभयो । उहाँका अनुसार परियोजनाले मात्रै ३ करोड ८९ लाख ६० हजार २ सय १८ लगानी गरेको छ । त्यो लगानीमा किसान र उपभोक्ताको थप ३ करोड ११ लाख ३९ हजार ४ सय ६८ रुपैयाँ साझेदारी रहेको उहाँले बताउनुभयो । परियोजनाले बजार विकास अवधारणामा सन् २०१४ देखि निरन्तर काम गर्दै आएको छ । उत्पादित वस्तुको बजार विकासको माध्यमबाट गरिबी न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले काम भइरहेको भण्डारीले बताउनुभयो ।

परियोजनाले उन्नति कोष, सीधा सहयोग र सडक यातायात गरी तीन क्षेत्रमा सहयोग गरेको छ । परियोजनाले छथर गाउँपालिकाको ओख्रेमा रहेको छथर दुग्ध सहकारी संस्थालाई १ करोड २७ लाख ३४ हजार ५ सय अनुदान दिएको छ । त्यस्तै सार्वजनिक दुग्ध उत्पादक सहकारी संस्था फुलेक, मुसाङखेल दुग्ध उत्पादक सहकारी संस्था मुसाङखेल, तीनजुरे दुग्ध उत्पादक सहकारी संस्था सोल्मा, म्याङलुङ दुग्ध सहकारी संस्था म्याङलुङ र छथर दुग्ध परिकार उद्योग हमरजुङलाई क्रमशः १३ लाख ४९ हजार ५ सय, २६ लाख ८१ हजार, २२ लाख ४५ हजार २ सय ५०, ११ लाख ३० हजार ५ सय र १९ लाख ७६ हजार २ सय ५० अनुदान दिएर सहयोग गरेको छ ।

त्यस्तै सिंहदेवी चिया उत्पादक सहकारी संस्था सोल्मालाई १ करोड ९ लाख ३१ हजार १ सय ६० रुपैयाँ र मेन्छ्यायाम गाउँपालिकाको सिकीदिमस्थित चिया उत्पादक सहकारी संस्थाले पनि पनि १५ लाख ५७ हजार ५ सय रुपैयाँ अनुदान सहयोग पाएको छ । प्राप्त अनुदान सहयोगबाट सहकारीले चिया कारखाना निर्माण गरेका छन् ।

यस्तै फेदाप गाउँपालिकाको जलजलेमा रहेको प्रगतिशील अन्तरसामुदायिक विकास बहुउद्देशीय सहकारी संस्थालाई अदुवा भण्डारणका लागि भवन निर्माण गर्न २६ लाख ७० हजार सहयोग दिएको छ । सोल्मामा रहेको केप्छाकी बहुउद्देशीय नर्सरी फार्मलाई गुणस्तरीय अलैंचीका बिरुवा उत्पादनका लागि १६ लाख ८४ हजार ५ सय ५८ हजार रुपैयाँ सहयोग गरेको कृषि व्यवसाय विज्ञ भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया