तेह्रथुम । दुई वर्षको अवधिमा तेह्रथुमका २४ वटा सहकारी संस्थाहरुको कारोबार दोब्बरले वृद्धि भएको छ । ती सहकारीको शेयर सदस्य संख्या, शेयर पुँजी, बचत, लगानी र कारोबार समेत दुई वर्षको अवधिमा दोब्बरले वृद्धि भएको हो । जिल्लाका २३ वटा बचत तथा ऋण र एउटा कृषि सहकारीमा ती संस्थाहरुको संस्थागत विकास र दिगोपनाका माध्यमबाट गरिबी न्युनिकरण गर्ने ध्येयले सन्चालित सफल–दुई परियोजनाले सहकारी संस्थाहरुको वृद्धि विकासमा सहयोग पु¥याएको छ ।
मर्सिकोर नेपालको आर्थिक सहयोगमा सहमति नामक गैरसरकारी संस्थाले सन्चालन गरेको सो परियोजनाले ती सहकारी संस्थाको शेयर सदस्य संख्या, शेयर पुँजी, बचत, लगानी र कारोबारको अवस्था झण्डै दोब्बरले बढेको कार्यक्रम संयोजक विजय सुवेदीले बताउनुभयो । उहाँका अनुसार दुई वर्षको अवधिमा सफल दुई परियोजनाले सन्चालन गरेका तालिम र गोष्ठीबाट ६ हजार ८ सय ६ जना लाभान्वित भएका छन् ।
यस्तै परियोजनाको सहयोगमा शेयर सदस्य संख्या ८ हजार ३ सय ७५ बाट वृद्धि भई १२ हजार १ सय ६२ पुगेको छ । शेयर पुँजी ९७ लाख ५२ हजार ८ सय बाट वृद्धि भएर १ करोड ७६ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै बचत रकम ४ करोड २६ लाख ८१ हजार १ सय १९ बाट वृद्धि भई ७ करोड ५६ लाख ५३ हजार ९ सय ५९ पुगेको छ ।
ती सहकारी संस्थाहरुको लगानी ६ करोड १४ लाख ९ हजार ४ सय २३ बाट ११ करोड ७८ लाख २६ हजार ५ सय ९६ पुगेको छ । यस्तै ती सहकारीहरुको कारोबार समेत ६ करोड ६६ लाख ६७ हजार ४ सय ६४ वाट वृद्धि भएर १३ करोड १९ लाख ७७ हजार ६ सय १६ पुगेको मर्सिकोर नेपालका सिनियर अफिसर किरण दाहालले बताउनुभयो ।
वित्तीय सेवामा पहुँच वृद्धि गरी गरिबी न्युनिकरण गर्ने उदेश्यले यहाँ सन्चालित सफल–दुई परियोजनाले दुई वर्षको अवधिमा गरेका कामको आइतबार समीक्षा गरेको छ । सन् २०१६ को जुनदेखि सन्चालन भई यही अप्रिलबाट बहिर्गमन हुन लागेको कार्यक्रम संयोजक विजय सुवेदीले बताउनुभयो ।
करिब दुई वर्षसम्म सन्चालित परियोजनाको कुल १ करोड ५८ लाख ८४ हजार ६ सय ५० रुपैयाँमध्ये १ करोड ५४ लाख २१ हजार ७ सय ५६ रुपैयाँ खर्च भएको जनाएको छ । तेह्रथुम सहित पुर्वका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा र भोजपुर जिल्लामा सन्चालित परियोजनाले १ सय ३४ वटा सहकारी संस्थाहरुको क्षमता विकास र दिगोपनाका लागि सहयोग गरेको छ ।
परियोजनाकै सहयोगबाट जिल्लाका धेरैवटा बचत तथा ऋण सहकारी संस्थाहरुमा सुशासन कायम भएको कार्यक्रममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुले बताएका छन् । परियोजनाले सहकारी संस्थाहरुको क्षमता विकासका लागि विभिन्न तालिम, गोष्ठी र छलफलको आयोजना गरेको छ ।
यस्तै सहकारीका गतिविधिको नियमित अनुगमन र मुल्यांकन गरी पृष्ठपोषण समेत निरन्तर दिएर सहयोग पु¥याएको सहकारीकर्मीहरुले बताएका छन् । परियोजना अन्तर्गत गाउँ–गाउँमा सन्चालन भएको वित्तीय साक्षरता कक्षा तथा युवा वित्तीय साक्षरता कक्षा प्रभावकारी भएको कार्यक्रममा सहभागीले बताएका छन् ।
सहभागीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले सहकारी संस्था र तिनका गतिविधिबारे ज्ञान नराख्दा सहकारी संस्थाहरुको अपेक्षाकृत विकास नहुनेमा शंका गरेका थिए । जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख प्रेमलता घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मर्सिकोर नेपालका फाइनान्सियल मेनेजर शिवहरि देवकोटा, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलसी खनाल लगायतले मन्तव्य राख्नुभयो । कार्यक्रम सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।