तेह्रथुम । सुरक्षित गर्भपतन सेवाका विषयमा ग्रामीण क्षेत्रमा सचेतीकरणको खाँचो रहेको शुक्रबार म्याङलुङ्गमा आयोजित एक कार्यक्रमका सहभागीले औल्याएका छन् । आइपास नेपालको सहयोगमा समृद्ध तेह्रथुमका लागि अभियानले सन्चालन गरिरहेको यौन तथा प्रजनन् अधिकार सुदृढिकरण परियोजना अन्तर्गत आयोजित जिल्लास्तरीय सरोकारवाला परामर्श बैठकमा सहभागी जिल्लाका जिम्मेवार व्यक्तिहरुले सुरक्षित गर्भपतन सेवाका सम्बन्धमा महिलाहरुलाई जानकारी नरहेको र सो विषयमा सचेतीकरणको खाँचो रहेको बताएका हुन् ।

कार्यक्रममा यौन तथा प्रजनन् अधिकार, परिवार नियोजन, सुरक्षित गर्भपतन सम्बन्धी नेपालमा कानुनी अवस्था र सुरक्षित गर्भपतनको आवश्यकता, महत्व र हालको अवस्थाबारे छलफल भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख प्रेमलता घिमिरेले असुरक्षित गर्भपतनको दर उच्च रहेको भन्दै त्यसलाई घटाउन जिल्लैभरि सचेतनामुलक कार्यक्रम सन्चालन गर्नु खाँचो रहेको बताउनुभयो ।

म्याङलुङ्ग नगरपालिकाका उपप्रमुख पार्वतीसानु डाँगीले महिलाको अधिकारको रुपमा सुरक्षित गर्भपतनको सेवा लिनका लागि महिलाहरुले नै सास्ती बेहोर्नु परिरहेको भन्दै त्यसको निराकरणका लागि ध्यान दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले गाउँ गाउँसम्म सन्चालन भएका औषधी पसलबाट जथाभावी रुपमा औषधी सेवन गर्ने र असुरक्षित गर्भपतन गर्ने भएकाले सुरक्षित गर्भपतन सेवा विस्तारमा समस्या रहेको बताउनुभयो ।

उहाँले पहिलो चरणमा त्यस्ता औषधी विक्रेताहरुसँग छलफल गर्नुपर्ने र दोश्रो चरणमा अनुगमन गरी कारवाहीको दायरामा ल्याउनुपर्ने जरुरी रहेको बताउनुभयो । महिला अधिकार मन्चका जिल्ला अध्यक्ष इङवा सुब्बाले जिल्लाका सबै गाउँसम्म सुरक्षित गर्भपतन सेवाबारे जानकारी पु¥याउनुपर्ने खाँचो रहेको बताउनुभयो । कार्यक्रममा जिल्लामा आइपास नेपालले सन्चालन गरिरहेका गतिविधिबारे जिल्ला संयोजक केदार भण्डारी, समृद्ध तेह्रथुमका लागि अभियानले गरेका गतिविधिका बारेमा कार्यक्रम निर्देशक लक्ष्मीनारायण मिश्र र कानुनी व्यवस्था र उल्झनहरुका बारेमा महिला कानुन र विकास मन्चका अधिवक्ता नवीनकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम समृद्ध तेह्रथुमका लागि अभियानका अध्यक्ष महेन्द्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । तेह्रथुममा जिल्ला अस्पतालसहित १४ वटा स्वास्थ्य संस्थामा यहीवर्षबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । चालु आर्थिक वर्षको चैत मशान्त सम्मको अवधिमा जिल्लाभर जम्मा १ सय ६० जनाले सेवा लिएका छन् । त्यसमध्ये आठराई गाउँपालिकाको सक्रान्तिबजारका १६ जना र मोराहाङमा ९ जनाले सेवा लिएका छन् । जिल्ला अस्पतालमा मात्रै १ सय ८ जनाले सेवा लिएका र बाँकी धेरै स्वास्थ्य संस्थामा आएर सेवा लिनेको संख्या न्युन रहेको आइपास नेपालका जिल्ला संयोजक केदार भण्डारीले बताउनुभयो ।

तेह्रथुममा जिल्लाभर २६ जना स्वास्थ्यकर्मीहरु तालिमप्राप्त सेवा प्रदायकका रुपमा सूचीकृत गरिएका छन् । आइपासले नेपाल सहितका २० बढी देशहरुमा यौन तथा प्रजनन् शिक्षा सहित सुरक्षित गर्भपतन सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ । समृद्ध तेह्रथुमका लागि अभियानले हाल बसन्तपुर, सोल्मा, आम्बुङ र मोराहाङमा सचेतनामुलक कार्यक्रम सन्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया