तेह्रथुम । जिल्लामा रहेका १ सय ७२ वटा सहकारी संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरिएका छन् । डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङलुङ्गमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिकका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाहरुको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो । कार्यालयले सहकारीहरुको सबै अभिलेख स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशाशकीय अधिकृतहरुलाई हस्तान्तरण गर्दै सहकारीको नियमन, नियन्त्रण र निरन्तर अनुगमनको काम गर्न आग्रह गरेको छ ।

जिल्लामा रहेका २ सय ६ वटा कुल सहकारीमध्ये ३४ वटा सहकारीहरु प्रदेश कार्यालय अन्तर्गत परेका र बाँकी १ सय ७२ वटा सहकारीहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालयका प्रमुख दिलशेर राईले बताउनुभयो । म्याङलुङ्ग नगरपालिकालाई ३० वटा, लालीगुराँस नगरपालिकालाई ३९ वटा, छथर गाउँपालिकालाई ४६ वटा, आठराई गाउँपालिकालाई १८ वटा, फेदाप गाउँपालिकालाई २६ वटा र मेन्छ्यायेम गाउँपालिकालाई १३ वटा सहकारी संस्थाहरु हस्तान्तरण गरिएका छन् । सहकारी कार्यालयले हरेक स्थानीय तहको छुट्टा–छुट्टै अभिलेख तयार गरेका फाइलहरु म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फे, लालीगुराँस नगरपालिकाका उपप्रमुख तिला पोखरेल, छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला, फेदाप गाउँपालिकाका उपाध्यक्ष गीतादेवी थापा, मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङ र आठराई गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।

संविधानले सहकारी संस्थाहरुको दर्ता, नियमन, अनुगमन र खारेजीको अधिकारसमेत स्थानीय तहलाई दिएपछि सम्बन्धित स्थानीय तहका सहकारीहरुको अभिलेख हस्तान्तरण सुरु गरिएको डिभिजन सहकारी कार्यालयका प्रमुख राईले बताउनुभयो । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले सहकारीबाटै आफ्नो स्थानीय तहको समृद्धिको सपना देखेको बताएका थिए । सहकारीहरुको व्यवस्थापनका लागि ऐन निर्माण गरेर व्यवस्थित र विकास गर्ने कार्यक्रम रहेको म्याङलुङ्ग नगरपालिकाकी उपप्रमुख पार्वतीसानु डाँगीले बताउनुभयो । म्याङलुङ्ग नगरपालिका र मेन्छ्यायेम गाउँपालिकाले यस अघि नै सहकारी ऐन बनाएका छन् ।

बाँकी अन्य स्थानीय तहहरुले समेत सहकारी संस्थाहरुको विकासका लागि ऐन निर्माण गरी अघि वढ्नुपर्ने आवश्यकता रहेको जिल्ला सहकारी संघका अध्यक्ष छत्र रिमालले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र डिभिजन सहकारी कार्यालय मोरङका प्रमुख रामप्रसाद चापागाईले पनि मन्तव्य राख्नुभयो । यसैबीच डिभिजन सहकारी कार्यालयले सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशाशकीय अधिकृतहरुलाई सहकारी सम्बन्धी अभिमुखीकरण समेत गरेको छ । आजबाट सुरु भएको अभिमुखीकरण कार्यक्रम भोलि सम्पन्न हुने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया