तेह्रथुम ।  मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट विद्यार्थीलाई पढाउने उद्देश्यले तेह्रथुममा पनि समता विद्यालय खुलेको छ ।

पहिलो वर्ष तेह्रथुममा नर्सरी, एलकेजी, युकेजी र कक्षा–१, गरी चार वटा कक्षा सञ्चालन हुने स्कुलका प्रध्यानाध्यापक रमेश बजगाईले बताउनुभयो । पहिलो पटक तेह्रथुममा खुलेको समता स्कुलमा तोकिएको विद्यार्थी संख्या पूरा भइसकेका छन् ।

स्कुलले पहिलो वर्ष हरेक कक्षामा २५ जनाका दरले विद्यार्थी भर्ना गराएको छ । म्याङलुङ्ग नगरपालिका–१, स्थित कृष्ण मन्दिरसँगै स्थापना भएको स्कुलमा अहिले शिक्षक र पूर्वाधार व्यवस्थापनको काम भइरहेको छ । स्कुलले वैशाख १३ गतेबाट पठन पाठन सुरु गर्ने तयारी गरेको प्रध्यानाध्यापक बजगाईले बताउनुभयो ।

नेपालमा सन् २००१ बाट स्थापना भएको समता स्कुलले अहिले ४५ भन्दा बढी जिल्लामा कक्षा सञ्चालन गर्दै आएको छ । न्यून मासिक शुल्कमै निजी विद्यालयको जस्तै गुणस्तरीय र अंग्रेजी माध्यमको शिक्षा पाइने भएपछि अभिभावकहरु पनि समतामा छोराछोरीलाई भर्ना गराउन आकर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया