गुराँस न्युज । तेह्रथुम । पुर्वी पहाडी जिल्लाहरु तेह्रथुम, संखवासभा र ताप्लेजुङको संगमस्थलको रुपमा रहेको तीनजुरे मिल्के जलजले (टिएमजे) बन क्षेत्रका लेकाली वन पाखाहरु यतिवेला गुराँस फुलेर राताम्मे छन् । यो क्षेत्रमा फुलेका थरिथरिका गुराँस फुलले फेरि पनि पर्यटकलाई लोभ्याइरहेको छ । लेकाली डाँडाकाँडा र पाखामा फुल्ने रंगीचङ्गी फुलले यो क्षेत्रको सुन्दरतालाई उजिल्याएको छ । एउटै वनमा २८ प्रजातिका गुराँस फुल्ने भएकाले यो क्षेत्र गुराँसको राजधानीको नामले चर्चित छ । यहाँ विश्वमा पाइने ४२ मध्ये २८ बढी प्रजातिका गुराँस पाइन्छन् ।
गुराँसले मात्र होइन, पोखरी, सुन्दर लेकाली बस्ती, मकालु र कञ्चनजंघा हिमशृंखला, एउटै उचाईको रमणीय पदमार्ग लगायतले यो क्षेत्र पर्यटकले भरिभराउ छ । नयाँ वर्षमा रंगीचंगी गुराँसको अवलोकन गर्न यो क्षेत्रमा पर्यटकको भीड लाग्ने गरेको छ । ‘यो वर्ष अलिक ढिलो मात्रै गुराँस फुल्यो, अबको केही दिनपछि पूरै जंगल गुराँस फूलले राताम्मै देखिन थाल्छ,’ चौकीबजारका होटल व्यवसायी उदयकुमार तामाङले भन्नुभयो । गुराँसको राजधानी टिएमजे क्षेत्रको प्रवेशद्धारको रुपमा रहेको वसन्तपुरबाट थोरै अगाडि बढेर टुटेदेउराली नपुग्दै मनोरम गुराँसको जंगलले स्वागत गर्छ ।
वर्षको आठ महिना कुमारी रहने यो क्षेत्र गुराँस फूलकै कारण आन्तरिक तथा बाहय पर्यटकको मुख्य रोजाइमा पर्ने गर्छ । भारतको विहार र दार्जिलिङबाट नजिकको दूरीमा रहेको यो क्षेत्रमा त्यहाँका सौन्दर्यप्रेमीको ओहोर–दोहोर केही वर्षदेखि चलिरहेको छ । नयाँ वर्षमा अझै धेरै पर्यटकहरुको आगमन हुने गरेको छ । यो वर्ष विगतभन्दा कम मात्रै गुराँस फुलेको भएपनि पर्यटकको संख्यामा कुनै कमी नआएको बसन्तपुरस्थित याक होटलका सन्चालक पेम्बा भोटियाले बताए । गुराँसका प्रजातिमा रम्ने र यहाँको प्राकृतिक छँटामा झुमेर रमाउनेहरु बढेका छन् ।
जति हेरे पनि नअघाउने विविधता बोकेको गुराँसको सौन्दर्यमा रमाउन आएका आन्तरिक तथा बाह्य पर्यटकले तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफा बजारसम्मका होटल तथा लजहरू भरिन थालेका छन् । वनभरि बैंस फक्राएर फुल्ने रंगीचंगी गुराँस, ठाउँ–ठाउँमा देखिने नागी र पोखरीहरू, यहाँका आकर्षक डाँडाकाँडा पर्यटकको मन लोभ्याउने थप आकर्षणहरू हुन् ।
यो क्षेत्रमा घुम्दा शुद्ध कोदोको तोङ्वा र सुकुटीको खान्की बिर्सी नसक्नुको हुन्छ । छुर्पी, गुराँसको जुस, ऐंसेलु र चुथ्रोको वाइन यस क्षेत्रका चाख्नैपर्ने खान्की हुन् । गुराँस संरक्षणको अभियानमा लागेका प्रदेश सभासदसमेत रहेका राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका संयोजक लक्ष्मण तिवारी यो क्षेत्र विश्वभरिका पर्यटकका लागि गुराँस अध्ययन अवलोकन र सौन्दर्यका लागि पहिलो गन्तव्य बनेको बताउनुहुन्छ ।
काठमाडौंबाट ३५ मिनेटको हवाई यात्रापछि विराटनगर आइपुगिन्छ । यहाँबाट चार घण्टाको सवारी साधनको यात्रापछि गुराँसे वनको प्रवेशद्वार वसन्तपुर पुगिन्छ । यहाँबाट सुरु हुने टिएमजेमा २ सयभन्दा बढी प्रजातिका वनस्पतिहरू पाइन्छन् । तँछाड मछाड गर्दै फुलेका प्राकृतिक गुराँस वनले पदयात्रा अवधिभर स्वागत गरिरहेझैं लाग्छ । यो क्षेत्रमा गुराँसको सबैभन्दा अग्लो र होचो प्रजातिसमेत फुल्न थालेका स्थानीयबासी बताउँछन् ।
जिल्ला बन कार्यालय तेह्रथुमका अनुसार टिएमजे क्षेत्रमा ८० हजार जनसंख्या बस्छ । यस क्षेत्रमा गुराँसका रैथाने र नयाँ प्रजाति पनि भेटिने क्रम जारी रहेको बन कार्यालयहरु बताउँछन् । १ हजार ५ सयदेखि ५ हजार ५ सय मिटर उचाइमा फैलिएको यो क्षेत्र जैविक तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत र सौन्दर्यको हिसाबले पनि उत्तिकै महत्वपुर्ण छ ।
मानव चाप कम रहेको यस क्षेत्रमा पुग्ने जोकोही आफ्नो बसाई अवधि मनोरम गुराँस वनमा बिताउन लालायित हुन्छन् । सवारी साधनको यात्रालाई केही दिनका लागि चटक्कै छोडेर प्राकृतिक गुराँस वनको भ्रमणमा निस्किएकाहरू रमणीय गुराँस वनको सौन्दर्यमा केही समय भएपनि हराउँछन् । पर्यटन विकास तथा प्रवद्र्धन समिति अध्यक्ष गोविन्द ढुंगाना यहाँको गुराँस वन संरक्षण गर्न सके पर्यापर्यटनको राम्रो सम्भावना रहेको बताउनुहुन्छ ।
यस क्षेत्रमा यात्रा गर्दा एउटै उचाइका रमणीय पहाड भएर यात्रा गर्नुपर्ने भएकाले उचाइ परिवर्तनका कारण उत्पन्न हुने हाइअल्टिच्युडको समस्या हुँदैन । टिएमजे क्षेत्रमा फुलेका यी गुराँसहरू आफ्ना रहर लाग्दा बंैस देखाइरहेका छन् । उन्मत्त बैंसले मात्तिएजस्तै देखिने यी गुराँस फूलले यो क्षेत्र र वरपरको वातावरणलाई कुत्कुत्याइरहेको छ ।
गुराँस वनको यात्रामा निस्कनेहरूका लागि वसन्तपुरदेखि मिल्के भञ्ज्याङसम्मको पदमार्गमा होटल तथा लजहरू खुलेका छन् । यस क्षेत्रले देशविदेशका पर्यटक पाएको छ । आर्थिक गतिविधि बढेको छ अनि वातावरणीय सौन्दर्य मौलाएको छ ।
गुराँस भन्ने बित्तिकै धेरैको मनमा राष्ट्रिय फूल लालीगुराँसको मात्र सम्झना आउँछ । तर, गुराँसका धेरै प्रजाति नेपालकै पूर्वी पहाडमा फुल्छन् भन्ने कमैलाई मात्र थाहा हुन सक्छ । यी तीन जिल्लाको संगमस्थल (टीएमजे) क्षेत्रमा २८ प्रजातिका गुराँस तँछाडमछाड गर्दै फुल्छन् । प्राकृतिक रूपमा फुलेका यी फूलको सौन्दर्य देखाएर स्थानीयले अझै बढी फाइदा लिन सक्छन् ।
गुराँसका प्रजातिमा रम्नेहरु चैत लाग्दैदेखि निरन्तर भरिभराउ छन् । यहाँ स–साना बस्तीका होटल र लजहरु भरिभराउ छन् आन्तरिक र वाह्य पर्यटकहरुले । सडक निर्माणको थालनीले पदमार्ग मासिन थालेपछि वाह्य पर्यटकहरुको पहिलेजस्तो चाप छैन । तर आन्तरिक पर्यटकहरु भने कम लाग्दैनन् । राताम्मे गुराँससँग सिगौरी खेल्दै रमाएर फर्किनेहरु बढेका बढ्यै छन् । यो क्षेत्रमा विशेष गरी नयाँ वर्षका दिन आन्तरिक पर्यटकको घुँइचो लाग्छ ।
गुराँसे बनको अवलोकनका लागि आन्तरिक पर्यटकहरुले तीनजुरे मिल्के र जलजले क्षेत्रमा पुग्छन् । तेह्रथुमका विभिन्न गाउँ सहित धनकुटा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, सुनसरी, झापा र मोरङबाट हजारौँ मानिसहरु आउँछन् । नयाँ वर्ष सुरुवातको दिन बैशाख १ गते टिएमजेमा आगन्तुकहरुको भीड लाग्छ । यो वर्ष पनि तीनजुरे पाथीभरा मन्दिरमा पुजाआजाको तयारी छ । आर आर गार्डेन र अन्य ठाउँहरुमा पनि पर्यटक लक्षित कार्यक्रमहरु आयोजना गरिएका छन् ।