तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–७ ले वडाभित्रका आर्थिक रुपले विपन्न परिवारका सदस्यहरुलाई जस्तापाता, विद्युतीकरणका लागि मिटर बक्स र खानेपानी तथा सिंचाईका लागि पाइप वितरण गरेको छ ।
वडा कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी वडाले वडा क्षेत्रका ३ परिवारलाई जस्तापाता वितरण गरेको हो ।
वडा भित्रका विपन्न ठहरिएका मनबहादुर विक, देवीमाया विक र कुमारी दर्जीलाई प्रति परिवार १० हजार रुपैयाँ बराबरका जस्तापाता वितरण गरेको छ ।
यस्तै विद्युतीकरणका लागि आर्थिक विपन्नताका कारण समस्या बेहोरिरहेका हेमबहादुर लिम्बु, तिलबहादुर विक, हर्कबहादुर लिम्बु, सुमित्रा माझी र जयबहादुर खड्कालाई प्रतिपरिवार ६ हजार रुपैयाँ बराबरका मिटर बक्स, तार लगायतका विद्युतीकरणका सामाग्रीहरु वितरण गरेको छ ।
यस्तै विभिन्न १६ परिवार लाभान्वित हुनेगरी साना सिंचाई तथा खानेपानीका लागि पाइप वितरण गरिएको वडा सचिव राम भटराईले बताउनुभयो । वडा कार्यालयमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले विपन्न घरधुरीका सदस्यहरुलाई जस्तापाता, विद्युतीकरणका सामाग्री र पाइप वितरण गर्नुभएको थियोे । नगर प्रमुख तुम्बाहाम्फेले नगरपालिकाले नगर क्षेत्रका गरिब, विपन्न सहित घरधुरी सर्वेक्षण गरी विभिन्न तथ्यांकहरुको अभिलेखीकरण गरेर यस्तै प्रकृतिका कार्यक्रमहरु सन्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत विदुर खनाल, सरस्वती आधारभूत विद्यालयका शिक्षक मित्र नेपाली, स्थानीय जमुना सुवेदी र जिल्ला खेलकुद विकास समितिका सदस्य तारा गुरुङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडाध्यक्ष नारायण आचार्यकोे अध्यक्षतामा सम्पन्न भएको हो ।