तेह्रथुम । गाउँपालिकाले बजार क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरा भत्काउन भनेपछि छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारका बासिन्दाले टहरा भत्काएका छन् । बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले सडक मिचेर बनाइएका घर टहरा भत्काउन निर्देशन जारी गरेको थियो ।
गाउँपलिकाको निर्देशन पछि छथर गाउँपालिका–२ स्थित बजारका धामबहादुर कार्कीले घरसँग जोडिएको बार्दली हटाउनुभएको छ । यस्तै ध्रुब खुलाल, देशबहादुर कार्की, सुमन खुलाल, उमेश पोखरेल, पन्चबहादुर लिम्बु र बलबहादुर तामाङले पनि सडक फराकिलो बनाउन सहयोग गर्दै बार्दली, बराण्डा र निर्माण भएका अन्य टहराहरु भत्काएका स्थानीय विदुर बस्नेतले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले बजार क्षेत्रका मुख्य सडकलाई १० मिटर र अन्य शाखा सडकहरु ७ मिटरका बनाउने भन्दै त्यसका लागि सहयोग गर्न सूचित गरेको थियो । सडक फराकिलो बनाउन बजारबासीले गाउँपालिकोको निर्णयको समर्थन गर्दै आफैँ आफुले बनाएका घर र टहरा भत्काएका हुन् ।