गुराँस न्युज । तेह्रथुम । आयआर्जनका माध्यमबाट गरिबी घटाउन सहयोग पु¥याउने उद्देश्यले जिल्लामा सञ्चालित कार्यक्रमहरु अन्तर्गत ३ हजार ३ सय बढी लघुउद्यमी तयार भएका छन् । लघु उद्यम विकास कार्यक्रम, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम र तत्कालिन जिल्ला विकास समिति अन्तर्गत जिल्लामा ३ हजार ३ सय ४८ जना लघुउद्यमी तयार भएका हुन् ।

सो कार्यक्रमले उद्यमशीलता विकासबारे ज्ञान प्रदान गरी आयमुलक व्यवसायमा लाग्न प्रेरित गर्दै सीपमुलक तालिम दिएको छ । जिल्लाका म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर, मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका युवा, महिला र निम्न वर्गका व्यक्तिहरुलाई उद्यमी बनाइएको हो । विपन्न समुदायको आयआर्जनमा वृद्धि गरी गरिबी घटाउने र सामाजिक रुपमा पछि परेका समुदायलाई सशक्त बनाउने उदेश्यले ती समुदायलाई उद्यम गर्ने बानीको विकास गराएको छ ।

त्यसमध्ये सबैभन्दा बढी ढाका कपडा बुनाई, सिलाई–कटाई, तरकारी खेती, दुग्ध प्रशोधन, कृषि औजार, मौरीपालन, बाँसका सामाग्री निर्माण, बंगुरपालन, व्युटीपार्लर, कुखुरापालन, बाख्रापालन लगायत विषयमा उद्यमी बनेका लघु उद्यम विकास कार्यक्रम बजार विकास विज्ञ प्रकाश खड्काले बताए । उनका अनुसार कार्यक्रम अन्तर्गत जिल्लामा दश वटा ग्रामीण बजारहरुको प्रवर्धन भएको छ । कार्यक्रमबाटै १० वटा साझा सुविधा केन्द्र स्थापना, ८ वटा लघु उद्यमी सहकारी प्रवर्धन र ३ सय १६ वटा लघु उद्यमी समुह गठन भएका छन् ।

जिल्लामा सन् १९९८ बाट सन्चालित सो कार्यक्रम यो वर्षबाट बहिर्गमन हुने भएको छ । जिल्लामा तयार भएका उद्यमीहरु सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरी कार्यक्रम जिल्लाबाट बहिर्गमनको तयारीमा रहेको बजार विकास विज्ञ खड्काले बताए । बुधबार सदरमुकाम म्याङलुङ्गमा आयोजित लघु उद्यम विकास कार्यक्रमको बहिर्गमन गोष्ठीमा सहभागीलाई सहजीकरण गर्दै क्षेत्रीय सहयोग कार्यालय विराटनगरका प्रबन्धक प्रेमराज न्यौपानेले परियोजनाले पछिल्ला पाँच वर्षका लागि बनाएको राष्ट्रिय लक्ष्य अनुरुप जिल्लामा पनि सफल उद्यमीहरु सिर्जना भई गरिबी निवारणमा सहयोग पुगेको बताए ।

न्यौपानेका अनुसार जिल्लामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७ सय २० जना, लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २ हजार ६ सय १३ जना र तत्कालिन जिल्ला विकास समितिमार्फत १५ जना लघुउद्यमीहरु तयार भएका हुन् । लघु उद्यम विकास कार्यक्रमले बनाएका उद्यमीमध्ये १ हजार ८ सय १२ जना महिला रहेका छन् । हाल छ स्थानीय तह रहेको जिल्लाको म्याङलुङ्गमा ३ सय ८४ जना, लालीगुराँस नगरपालिकामा ५ सय १२ जना, छथर गाउँपालिकामा ४ सय ३८ जना लघु उद्यमी रहेका छन् । यस्तै मेन्छ्यायेम गाउँपालिकामा २ सय २१ जना, फेदाप गाउँपालिकामा ३ सय ४८ जना र आठराई गाउँपालिकामा ७ सय १० जना लघु उद्यमी तयार भएका कार्यक्रम क्षेत्रीय प्रबन्धक न्यौपानेले बताए ।

कार्यक्रमको सहजीकरणमा जिल्लामा हाल २६ वटा कृषिमा आधारित उद्यम सन्चालनमा रहेको बजार विकास विज्ञ खड्काले बताए । यस्तै बनमा आधारित ३ वटा, कलामा आधारित ३२ वटा, पर्यटनमा आधारित १ वटा र सेवामा आधारित १२ वटा उद्यमी सन्चालनमा रहेका छन् । यस्तै ढाका बुनाई व्यवसाय ८ सय १३ वटा, तरकारी खेती ३ सय ७ वटा, दुग्ध प्रशोधन १ सय ६५ वटा, सिलाई कटाई १ सय १९ वटा, बिस्कुट बनाउने ४ वटा, कृषि औजार उद्योग ५६ वटा, दालमोठ उद्योग ४६ वटा र बाँस फर्निचर उद्योग ६० वटा सन्चालनमा रहेका बजार विकास विज्ञ खड्काले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत जिल्लामै सन्चालन गर्न सकिने नयाँ उद्यमका क्षेत्रहरको समेत पहिचान गरिएको छ । जसमा चाउचाउ, बेकरी दुनोट उद्योग, मोवाइल मर्मत, कपाल काट्ने, बंगुरपालन, दुग्धजन्य, माछापालन, कुखुरापालन, सिलाई बुनाई, ब्युटीपार्लर, विद्यूत वाइरिङ, ग्रामीण टेलिसेन्टर, छालाजुत्ता मर्मत उद्योग, स्टेशनरी, घडी मर्मत, एग्रो भेट र फोटा स्टुडियोसँग सम्बन्धित व्यवसायमा नयाँ उद्यमीको आवश्यकता देखिएको खड्काले बताए । ‘युवाहरु दैनिक सयौँको संख्यामा विदेशिने क्रम छ, यसलाई रोक्न यी व्यवसायहरुमध्ये कुनै एक हुन सक्छन्,’ उनले भने । युवा पुस्ताको यी व्यवसायमा आकर्षण नरहेको तर यी व्यवसायमा उल्लेख्य आर्थिक आम्दानीको सम्भावना देखिएको उनले बताए ।

कार्यक्रमले जिल्लामा नीतिगत रुपमा समेत उपलब्धि गरेको छ । जिल्लाका सबै स्थानीय तहहरुमा पाँच वर्षे उद्यम विकास रणनीतिक योजना निर्माण गरी कार्यान्वयनको चरणमा रहेका छन् । सबै स्थानीय तहमा उद्यम विकास समिति गठन भई उद्यम विकास गरी गरिबी न्युनिकरण गर्ने ध्येयले रणनीतिक योजनाहरुको कार्यान्वयन भइरहेको खड्काले बताए । कार्यक्रमले म्याङलुङ्ग नगरपालिकालाई नमुना लघुउद्यम क्षेत्रको रुपमा विकास गर्ने अवधारणा समेत अघि बढाएको छ । नगरपालिकाको क्षेत्र भित्र ढाका, सिलाई कटाई, कृषिजन्य र अन्य क्षेत्रसँग सम्बन्धित उद्यमीहरु निर्माण गरी नमुना नगर बनाउने अभियान समेत सुरु भएको छ । नमुना निर्माणका लागि नगरपालिकाका जनप्रतिनिधिहरुको अवलोकन भ्रमण, ऐन कानुन, उद्यम विकास मोडल निर्माण र कार्यान्वयन लगायत काम भएका छन् ।

कार्यक्रमले पछिल्ला पाँच वर्षका लागि देशभरबाट ७३ हजार लघुउद्यमी तयार गर्ने लक्ष्य लिएको थियो । सो लक्ष्यको निकटतम विन्दुमा कार्यक्रमले उपलब्धि हासिल गरेको उनले बताए । कार्यक्रमले रोजगारीको समस्या समाधान गर्ने, गरिबी न्युनिकरण गर्ने, विकासको प्रतिफल सबै तह र तप्कामा पु¥याउने, परनिर्भरता कम गर्ने, मध्यम आय भएको राष्ट्रमा रुपमान्तरण गर्ने, दिगो विकास लक्ष्य हासिल गर्ने र समृद्ध समाज निर्माण गर्ने लगायत महत्वाकांक्षी लक्ष्य लिएको थियो ।

तपाईको प्रतिक्रिया