गुराँस न्युज । तेह्रथुम ।  प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनको क्रममा पुरानो मानसिकता, आनीबानी र केन्द्रीकृत सोचका कारण अन्योल सिर्जना भएको बताउनुभएको छ । उहाँले नयाँ संविधानले व्यवस्था गरेको संघीयताको नयाँ अभ्यास गर्ने क्रममा तीन वटै तहका सरकार बनिसकेपनि राज्यका विभिन्न अंङ्गहरु र कर्मचारी प्रशासनमा छाएको पुरानो मानसिकता, व्यवहार र केन्द्रीकृत सोचले समस्या सिर्जना भएको बताउनुभयो ।

तेह्रथुमको म्याङलुङ्गमा आज भएको जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुसँग भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । अब शान्ति, स्थिरता, विकास र समृद्धिको युग सुरु भएको भन्दै उहाँले जनताका भावना र चाहानाहरुसँग जोडिएर विकास र समृद्धिको गन्तव्य तय गर्ने जिम्मेवारी तीन तहकै सरकारको काँधमा आएको धारणा राख्नुभयो ।

मुख्यमन्त्री राईले तमोर जलाशययुक्त आयोजना प्रदेशको मात्रै नभई राष्ट्रिय गौरवको आयोजना भएको बताउनुभएको छ । उहाँले सो आयोजनालाई बहुउदेश्यीय आयोजनाको रुपमा पहिलो प्राथमिकतामा राखेर प्रदेश र संघीय सरकारले काम गर्ने बताउनुभयो । तेह्रथुमका जनप्रतिनिधिहरुले प्रदेश सरकारले कानुन बनाउन ढिलो गर्दा आफुहरुलाई समस्या भएको भन्दै शिक्षा, स्वास्थ्य, जनप्रतिनिधिका सेवा सुविधा लगायत विषयमा यथासिघं्र कानुन बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री राईले आजै भएको भेटघाट कार्यक्रममा कर्मचारीहरुलाइ संघीय व्यवस्था बमोजिमको नयाँ प्रवृत्ति, व्यवहार र प्रकृतिबाट सुशासन कायम गरी सेवा दिन निर्देशन दिनुभएको छ ।

तपाईको प्रतिक्रिया