-प्रकाश धौलाकोटी, 

गुराँस न्युज । तेह्रथुम । प्रदेश नं. १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ । जिल्लाका ९५ दशमलब ९८ प्रतिशत नागरिकहरु साक्षर भएको तथ्यांक बमोजिम मुख्यमन्त्री शेरधन राईले मंगलबार म्याङलुङ्गमा एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरेका छन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका १५ देखि ६० वर्ष उमेर समुहका मानिसहरु मध्ये ९५ दशमलव ९८ प्रतिशत मानिस साक्षर भएका छन् । जिल्ला शिक्षा कार्यालयले करिब एक दशक यता निरन्तर सन्चालन गरेको जिल्लालाई पुर्ण साक्षर बनाउने अभियानले सार्थकता पाएको छ ।

जिल्लालाई पुर्ण साक्षर बनाउने अभियान ०६७ सालदेखि निरन्तर छ । अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत अहिले पनि साक्षरोत्तर कक्षाहरु सन्चालन भइरहेका छन् । सो कार्यक्रमले ६० वर्ष मुनिका सबै मानिसलाई साक्षर बनाउने लक्ष्य लिएको छ । हाल जिल्लामा दुई नगरपालिका र चार गाउँपालिका रहेका छन् । र ती स्थानीय तहमा ४३ वटा वडाहरु रहेका छन् । अनौपचारिक शिक्षा कार्यक्रमका फोकल पर्सन भीम मिश्रका अनुसार जिल्लाका १५ देखि ६० वर्ष सम्मका मानिसहरुमध्ये ९५.९८ प्रतिशत साक्षर भएपछि जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा आर्थिक वर्ष ०६८÷६९ देखि ०७१÷७२ सम्म साक्षरता कक्षा सन्चालन भएको थियो । ०६८ को जनगणना अनुसार जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका मानिसहरु मध्ये १३ हजार १ सय ७१ महिला सहित १७ हजार २ सय ३१ निरक्षर थिए । त्यसमध्ये आर्थिक वर्ष ०६८÷६९ मा १२ हजार ४ सय १७ जना साक्षर भएका छन् । क्रमशः ०६९÷७० मा १ हजार, ०७०÷७१ मा ५ सय, ०७१÷७२ मा २ हजार ४ सय ५७ गरी  निरक्षर रहेकामध्ये १६ हजार ३ सय ७४ जना साक्षर भइसकेका कार्यालयको तथ्यांक छ । सो तथ्यांकका आधारमा अब जिल्लामा ८ सय ५७ जना मात्रै निरक्षर छन् । कार्यालयले साक्षरता कक्षा ०७२ सालपछि सन्चालन गरेको छैन । त्यसयता निरन्तर शिक्षा कार्यक्रम अन्तर्गत सन्चालन गरेको साक्षरोत्तर कक्षामा ४ हजार ९ सय ६९ जना सहभागी भएका छन् । जिल्लामा २१ वटा सामुदायिक सिकाई केन्द्रहरु सन्चालनमा रहेका छन् ।

ती सिकाई केन्द्रहरु मार्फत पहिले साक्षरता कक्षा र अहिले साक्षरोत्तर कक्षाहरु सन्चालन भइरहेका छन् । जिल्लामा हाल आधारभूत (१–५) कक्षा भएका १४७, आधारभूत (१–८) कक्षा भएका ३५ र माध्यमिक विद्यालयहरु ४७ वटा रहेका छन् । जिल्लामा छ वटा क्याम्पस र २३ वटा निजी विद्यालयहरु सन्चालनमा रहेका जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।

शैक्षिक सुधार प्रदेश सरकारको प्राथमिकतामा

साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको क्षेत्रमा विश्वले फड्को मार्ने क्रममा साक्षरताको परिभाषा नै बदलिँदो अवस्थामा रहेको बताउनुभयो । उहाँले राज्यको मोटो लगानी रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि तत्कालै कानुन बनाएर काम थाल्ने विषयमा कुनै समस्या नरहेको समेत उल्लेख गर्नुभयो ।
फरक प्रशंगमा बोल्दै मुख्यमन्त्री राईले संघीयता कार्यान्वयनको क्रममा पुरानो मानसिकता, आनीबानी र केन्द्रीकृत सोचका कारण अन्योल सिर्जना भएको बताउनुभयो । उहाँले नयाँ संविधानले व्यवस्था गरेको संघीयताको नयाँ अभ्यास गर्ने क्रममा तीन वटै तहका सरकार बनिसके पनि राज्यका विभिन्न अंङ्गहरु र कर्मचारी प्रशासनमा छाएको पुरानो मानसिकता, व्यवहार र केन्द्रीकृत सोचले समस्या सिर्जना भएको धारणा राख्नुभयो ।

अब शान्ति, स्थिरता, विकास र समृद्धिको युग सुरु भएको भन्दै उनले जनताका भावना र चाहानाहरुसँग जोडिएर विकास र समृद्धिको गन्तव्य तय गर्ने जिम्मेवारी तीन तहकै सरकारको काँधमा आएको बताउनुभयो । मुख्यमन्त्री राईले तमोर जलाशययुक्त आयोजना प्रदेशको मात्रै नभई राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्नुभयो । उहाँले सो आयोजनालाई बहुउदेश्यीय आयोजनाको रुपमा पहिलो प्राथमिकतामा राखेर प्रदेश र संघीय सरकारले काम गर्ने बताउनुभयो ।

घोषणा कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तेजमान कन्दङवाले भ्रष्टाचारमुक्त, सुशासनयुक्त र समृद्ध समाज निर्माणका लागि निर्वाचित जनप्रतिनिधिहरुको ध्यान पुग्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणका लागि प्रतिवद्धता जनाएको बिर्सन नहुनेमा जोड दिनुभयो । भ्रष्ट आचरणको अन्त्य गर्न सकेमात्र पनि शिक्षाको सुधार काफी हुने उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य लक्ष्मण तिवारीले शैक्षिक क्षेत्रको सुधारका लागि प्रदेश सरकारलाई निरन्तर ध्यानाकर्षण गराउने बताउनुभयो । कार्यक्रममा पुर्वसांसद तेजमान तुम्बाहाम्फे, म्याङलुङ्ग नगरपालिकाका प्रमुख सन्जय तुम्बाहाम्फे, आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु, म्याङलुङ्ग नगरपालिकाका उपप्रमुख पार्वतीसानु डाँगी र क्षेत्रीय शिक्षा निर्देशक राजकुमार विकले शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले भूमिका खेल्न सुझाव राख्नुभयो ।

एमाले जिल्ला उपसचिव भुपतिलाल श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक प्रकाश ईम्सङ, संघीय समाजवादी फोरमका जिल्ला सचिव तुलसी अधिकारी, जिल्ला शिक्षक महासंघका अध्यक्ष रामप्रसाद तिम्सीना, सामुदायिक सिकाई केन्द्रहरुको तर्फबाट चिचिलिङ पोखरी सामुदायिक सिकाई केन्द्रका छविलाल रिमाल, सिंहवाहिनी माविका प्रधानाध्यापक तेजबहादुर कार्की, प्याब्सनका प्रदेश नं. १ उपाध्यक्ष हेमराज अधिकारी र नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष श्रीकृष्ण दाहाल लगायतले अब निरन्तर शिक्षाका लागि प्रतिवद्धता जनाउनुभयो ।

घोषणा कार्यक्रमका अवसरमा जिल्ला शिक्षा कार्यालयले सबै सामुदायिक अध्ययन केन्द्र, विद्यालयहरु र श्रोत केन्द्रहरुलाई प्रमाण पत्रले सम्मान समेत गरेको छ । घोषणा सभा जिल्ला अनौपचारिक शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसअघि मुख्यमन्त्री राईले जिल्ला शिक्षा कार्यालय परिसरमा निर्माण गरिएको साक्षरता स्तम्भको अनावरण गरे । विभिन्न लोक संस्कृति झल्कने बाजागाजा सहितको ¥यालीले बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया