तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सोल्मामा भएको आगलागीका पीडित परिवारलाई छिमेकी गाउँका बासिन्दाहरुले राहत सहयोग गरेका छन् । तल्लो रातमाटे टोलबाट ज्ञानबहादुर श्रीपालीको अगुवाईमा संकलन गरिएको आठ हजार रुपैयाँ बराबरको धान आज अग्नीपीडित परिवारलाई प्रदान गरिएको हो ।

पीडित परिवारलाई ज्ञानबहादुर श्रीपालीले ५ पाथी धान र ३ भारी पराल सहयोग गर्नुभएको छ । यस्तै भक्तबहादुर अधिकारीले ५ पाथी, सन्तबहादुर खड्काले पाँच धान र एक जोर कपडा, बासुदेव खड्काले ५ पाथी धान र एकजोर कपडा र नेत्रबहादुर श्रीपालीले ५ पाथी धान र कपडा सहयोग गर्नुभएको छ । यस्तै स्थानीय कविराज पौडेलले छ पाथी र प्रेमबहादुर विकले ३ पाथी धान र कपडा सहयोग गर्नुभएको अग्नीपीडित लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

छिमेकीहरुबाट प्राप्त भएको धान र कपडा पुर्ण रुपमा विस्थापित अग्नीपीडित लक्ष्मीप्रसाद अधिकारी, लोकनाथ न्यौपाने र नेत्रप्रसाद अधिकारीलाई वितरण गरिएको छ । गत फागुन २२ गते सामुदायिक बनमा लागेको आगो गाउँमा सल्किँदा छ घर जलेर नष्ट भएका थिए । आगलागीमा परी लक्ष्मीप्रसाद र नेत्रप्रसाद अधिकारीसहित लोकनाथ न्यौपाने, गोविन्द अधिकारी, एकराज तिम्सीना र पशुपति लुईटेलको घर जलेको थियो ।

तपाईको प्रतिक्रिया