तेह्रथुम । तेह्रथुमका चिया उत्पादक किसान, सहकारी सन्चालक र जनप्रतिनिधिहरुले चिया खेतीको विकास र विस्तारका लागि चिया खेतीबाटै चर्चित बनेको इलाम जिल्लाको अवलोकन भ्रमण गरेका छन् । चिया उत्पादक सहकारी संघ, तेह्रथुमको संयोजनमा लालीगुराँस र मेन्छ्यायेम गाउँपालिकाका जनप्रतिनिधि, जिल्लाका सबै चिया उत्पादक सहकारी संस्थाका सन्चालक र चिया किसानहरुले इलाममा सन्चालित चिया उद्योग, चिया खेती विस्तारको अवस्था, चिया खेतीको वर्तमान अवस्था, समस्या र सम्भावनाहरुका विषयमा स्थलगत अवलोकन गरेका हुन् ।
२७ जनाको टोलीले चैत ९ गतेदेखि १३ गतेसम्म अवलोकन भ्रमण गरी जिल्ला फर्किएको चिया सहकारी सघ तेह्रथुमका कार्यक्रम संयोजक पारस तिम्सीनाले जानकारी दिनुभएको छ । उन्नति परियोजना र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा अवलोकन भ्रमणमा निस्किएको टोलीले चिया खेतीको विकास र सम्भावनाका बारेमा इलाम नगरपालिकाका मेयर महेश बस्नेत र चिया सहकारी संघका केन्द्रीय सचिव रविन राईसँग भेटघाट गरेको छ । सो क्रममा चिया खेती विकासका आधार, बजार र सम्भावनाका बारेमा छलफल भएको थियो । प्रदेश नं. १ लाई नै चिया खेतीको हब बनाउने सन्दर्भमा जनप्रतिनिधिहरुको बीचमा छलफल भएको छ ।
चिया सहकारी संघले प्रदेश नं. १ लाई चिया खेतीको हबको रुपमा विकास गर्ने अभियानै सन्चालन गरिरहेको छ । यस्तै भ्रमण टोलीले इलामका साना तथा ठुला चिया प्रशोधन उद्योगहरुको समेत अवलोकन गरी अनुभव साँटेको छ । तत्कालिन राजा विरेन्द्रले पुर्वका इलामसहित पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटालाई चिया खेतीको पकेट क्षेत्रका रुपमा घोषणा गरेपछि यी जिल्लामा चिया खेतीको विकास हुँदै आएको छ । त्यसयता इलाम जिल्लामा विशेषरुपमा चिया खेतीको विकास र विस्तार भएपनि अन्य जिल्लामा भने त्यति फष्टाउन सकेको छैन । चिया खेतीमा उल्लेख्य सम्भावना भएकाले अब अधिकारसम्पन्न स्थानीय सरकारहरुले पनि चिया खेतीको विकासका लागि लगानी गर्ने समय आएको छ ।