तेह्रथुम । म्याङलुङ्ग नगरपालिकालाई पुर्ण खोपयुक्त नगर सुनिश्चित गर्न तथा दिगोपनाका लागि सुक्ष्म योजना निर्माण गरिएको छ । नगरपालिकाको हलमा आयोजित दुई दिने गोष्ठीबाट नगरपालिकालाई पुर्ण खोप सुनिश्चित गर्न तथा दिगोपनाका लागि विभिन्न समस्याहरुको पहिचान गरी दिगो समाधानका उपाय र खोप व्यवस्थापनका योजनाहरु निर्माण गरिएको जनाइएको छ ।
नगरप्रमुख सहित कार्यपालिकाका सदस्यहरु, वडा सचिव र नगर क्षेत्रका स्वास्थ्य चौकीका इन्चार्जहरु सहभागी कार्यक्रममा खोप कार्यक्रम, पुर्ण खोप सुनिश्चितता, खोप कार्यक्रम व्यवस्थापन, तेह्रथुम जिल्लाको अवस्था र म्याङलुङ्ग नगरपालिकाको अवस्थाका बारेमा छलफल भएको थियो । सहभागी स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुले खोप कार्यक्रमलाई व्यवस्थित गरेर नगर क्षेत्रका सबै बालबालिकालाई पुर्ण खोप सुनिश्चित नगर बनाउन प्रतिवद्धता समेत जनाएका छन् ।
गोष्ठीको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख सन्जयकुमार तुम्बाहाम्फेले आफ्नो र आफ्ना बालबालिकाको स्वास्थ्यप्रति सबै सचेत हुन सुझाव राख्नुभयो । उहाँले स्वास्थ्य नै सबैभन्दा महत्वपुर्ण सम्पत्ति भएको बताउँदै आफु र आफ्ना नानीहरुको स्वास्थ्यप्रति सधै सजग रहन सुझाव दिनुभयो । नगर प्रमुख तुम्बाहाम्फेले नगर क्षेत्रमा स्वास्थ्य सेवालाई व्यवस्थित गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने भन्दै त्यसतर्फ केन्द्रीत हुन सबै जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभयो ।
जिल्ला स्वास्थ्य प्रमुख डा.मुक्तिनारायण शाहले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले नगर क्षेत्रको खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जनप्रतिनिधिहरुको महत्वपुर्ण भूमिका हुनुपर्ने बताउनुभयो । कार्यक्रममा वडाध्यक्षहरुको तर्फबाट वडा नं. १० का वडाध्यक्ष होम खापुङ, वडासचिवहरुको तर्फबाट चक्रबहादुर खड्का र स्वास्थ्य चौकीका इन्चार्जहरुको तर्फबाट रोशन बुढाथोकीले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
गोष्ठीमा नगर क्षेत्रका जिरिखिम्ती, आम्बुङ र तम्फुलामा खोप केन्द्रका लागि भवनको आवश्यकता रहेको माग भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी लभरेन्ज शाहले बताउनुभयो । नगर क्षेत्रमा खोप कार्यक्रमलाई व्यवस्थित र स्वास्थ्य सेवालाई थप विश्वासिलो बनाउन स्वास्थ्य संस्थाहरुको पुर्वाधार तथा औषधी व्यवस्थापन, नियमित अनुगमन र स्वास्थ्य स्वयम्सेविकाहरुको व्यवस्थापनको खाँचो रहेको सुझाव आएको उहाँले बताउनुभयो ।
गोष्ठीमा ६० वर्ष नाघेका स्वास्थ्य स्वयम्सेविकाहरुलाई स्वतः अवकाशको व्यवस्था गर्न समेत माग उठेको छ । नगर क्षेत्रमा ६५ जना स्वास्थ्य स्वयम्सेविकाहरु रहेका छन् । तीमध्ये १० जनाबढी ६० वर्ष नाघेका भन्दै उनीहरुलाई अवकाश दिलाई नयाँ नियुक्ति तथा निष्क्रीय रहेकालाई हटाएर सक्रिय स्वयम्सेविकाहरु राखिनुपर्ने माग उठेको छ । अवकाश लिने स्वयम्सेविकाहरुलाई सरकारले सेवानिवृत्त हुँदा नगद २० हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ ।
नगरपालिकाले स्वास्थ्य सेवालाई नागरिकको प्रत्यक्ष पहुँचमा पु¥याउन ऐन बनाएर काम थाल्ने मेयर सन्जय तुम्बाहाम्फेले बताउनुभएको छ । पाँच वर्ष मुनिका बालबालिकालाई बीसीजी, डीपीटी, पीसीभी, टीटी, जेई, पोलियो र दादुरा विरुद्धको खोप दिनुपर्छ । यसअघि नै पुर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेको तेह्रथुमका सबै गाउँपलिका तथा नगरपालिकाहरुमा पुर्ण खोप सुनिश्चित गर्ने कार्यक्रम सन्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ ।