तेह्रथुम । मेन्छ्यायेम गाउँपालिका–१, पौठाकस्थित सिंहदेवी आधारभुत विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग संकलन अभियान थालेको छ । विद्यालयको ४३ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले सहयोग संकलन अभियान सुरु गरेको हो । अहिलेसम्म विभिन्न दाताहरुबाट ४ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

शैक्षिक उन्नयनका लागि सहयोग गर्न विद्यालयले पुर्वविद्यार्थी, शिक्षक, अभिभावक, समाजसेवी र शिक्षाप्रेमीहरुलाई आव्हान गरेको छ । विद्यालयको वार्षिकोत्सवकै अवसरमा शैक्षिक गुणस्तर वृद्धिका लागि भन्दै अभिभावक, पुर्वविद्यार्थी र समाजसेवीहरुबाट सहयोग समेत प्राप्त भइरहेको विद्यालयका प्रधानाध्यापक टोमप्रसाद दाहालले बताए ।

विद्यालयमा कम्प्युटर व्यवस्थापनका लागि विव्यस पुर्व अध्यक्ष प्राणनाथ दाहालले स्वर्गीय पत्नीको स्मृतिमा १ लाख १० हजार रुपैयाँ सहयोग प्राप्त भएको प्रधानाध्यापक दाहालले बताए । यस्तै कम्प्युटर व्यवस्थापनकै लागि पुर्वविद्यार्थीहरुबाट नगद रु. १ लाख ३१ हजार १ सय ३१ रुपैयाँ प्राप्त भएको विद्यालयका शिक्षक सन्तोष पोखरेलले जानकारी दिनुभयो । २३ जना पुर्व विद्यार्थीहरुले सो रकम विद्यालयमा कम्प्युटर कक्षा सन्चालनका लागि सहयोग गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहनका लागि भन्दै स्थानीय अग्नीप्रसाद, कर्णबहादुर, कुमार, मोहन, मकरसिंह र प्रत्युस लिम्बुले नगद रु. दुई लाख रुपैयाँको स्वर्गीय काजीमान लिम्बु स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । यस्तै स्थानीय भीमप्रसाद दाहालले ३० हजार रुपैयाँ बराबरको छात्रवृति अक्षयकोष स्थापना गरिदिएका छन् ।
२०३२ सालमा स्थापना भएको विद्यालयको गुणस्तर वृद्धि गरी गाउँमै आधुनिक शिक्षा प्रदान गर्ने व्यवस्थाका लागि सहयोग गर्न सबैसँग आग्रह गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रशेखर भटराईले बताए ।

तपाईको प्रतिक्रिया