तेह्रथुम । जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले गाउँ–गाउँमा रहेका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको छ । कार्यालयले मंगलबार म्याङलुङ्ग नगर क्षेत्रका पाँच वटा स्वास्थ्य चौकी र जिरिखिम्ती शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा.मुक्तिनारायण शाहले नगर प्रमुख सन्जय तुम्बाहाम्फेलाई स्वास्थ्य संस्थाहरुको मौजुदा अवस्था समेटिएका फाइलहरु हस्तान्तरण गर्नुभयो । यसअघि स्वास्थ्य कार्यालयले लालीगुराँस नगरपालिका, छथर गाउँपालिका र आठराई गाउँपालिका स्वास्थ्य संस्थाहरु समेत स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।

अब फेदाप र मेन्छ्यायेम गाउँपालिकाका स्वास्थ्य संस्थाहरु समेत केही दिनभित्रै सम्बन्धित पालिकालाई हस्तान्तरण गरिने जनाइएको छ ।
जिल्लामा जिल्ला अस्पताल सहित ३२ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । संवैधानिक रुपमा आधारभूत स्वास्थ्य सेवा व्यवस्थापनको अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया