गुराँस न्युज, तेह्रथुम । राष्ट्रिय फूल लालीगुराँसका प्रजाति समेटेर गुराँस बगैंचा बनाइने भएको छ । गुराँसको राजधानी मानिने पूर्वी नेपालका संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रलाई समेटेर मादी नगरपालिकाले बगैंचा निर्माण सुरु गर्ने भएको हो । करिब ३० करोडको लागतमा बगैंचा निर्माण गर्ने लक्ष्य राखिएको मेयर विदुर लिङथेपले बताउनुभयो । उहाँका अनुसार निर्माणका लागि सहयोग जुटाउने काम भइरहेको छ । गुरुयोजना निर्माण भइरहेको छ, उहाँले भन्नुभयोे, ‘गुराँस नर्सरीका लागि नगरपालिकाले ३० लाख छुट्याउने छ ।’
दुर्गभ र मासिन लागेको गुराँसको नर्सरी लगाउने तयारी नगरपालिकाले गरेको छ । गुराँस संरक्षण नीति बनाएर सबै प्रजातिका गुराँस नर्सरीसमेत राख्ने गरी बगैंचा निर्माण गर्न लागिएको उहाँको भनाइ छ । ‘गुराँसको अध्ययन, अवलोकन र अनुसन्धान गर्न पाउने लक्ष्यसाथ नगरपालिकाले बगैंचा निर्माण गर्न लागेको हो । यो वर्षको प्रथम नगरसभाबाट छलफल गरी बगैंचा र पार्क गर्ने तयारी छ,’ उहाँले बताउनुभयो ।
गुराँसको प्रयोग व्यावसायिक रूपमै चिया, औषधि र जुसमा हुँदै आएको छ । नगरपालिकाले बगैंचा निर्माण गर्न अध्ययन सुरु गरी विज्ञहरूको सुझाव र सल्लाहअनुसार काम अघि बढाएको छ । विश्वमा पाइने ४२ प्रकारका गुराँस प्रजातिमध्ये नेपालमा ३२ प्रजाति रहेको अध्ययनले देखाएको छ । यीमध्ये तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छ ।
पर्यावरणीय हिसाबले उपयुक्त भएको पाएपछि मादी नगरपालिकाले समन्वय गरी धर्मदेवी र चैनपुर नगरपालिका, तेह्रथुमको लालीगुराँस, मेन्छ्याम गाउँपालिका, ताप्लेजुङको मैयाखोला गाउँपालिकाको सहकार्यमा बगैंचा निर्माण गर्न लागिएको हो । टीएमजे क्षेत्रमा तीन वटै जिल्लाको एक सय ६० वटा सामुदायिक वन समूहले संरक्षण गर्दै आएको छ । बगैंचा स्थापनापछि आगामी वर्षदेखि नर्सरी सुरु गरी अन्यत्र बिक्रीवितरण गरिने उहाँले बताउनुभयो ।