तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जिल्लामै पहिलो पटक बोरिङ प्रविधिबाट खानेपानी योजना सन्चालन गरेको छ । वडा नं. ५, ओखे्रको बिखे डाँडामा बोरिङ प्रविधिबाट पानी निकालेर वितरण गर्न लागिएको हो । गाउँपालिका क्षेत्रभित्रको खानेपानी समस्यालाई सीघ्र समाधान गर्ने उदेश्यका गाउँपलिकाले ४० लाख रुपैयाँ लगानी गरी पानी निकालेर वितरण गर्न लागेको अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो ।
जमीन देखि करिब ८० मिटर गहिराईसम्म खनेपछि पानी निस्किएको थियो । कृष्टल ड्रिलिङ कम्पनी काठमाडौँको आधुनिक उपकरण र प्राविधिक सहयोगमा बोरिङ गरी पानी निकालिएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । ‘सो प्रविधिबाट एक घण्टामा ४० हजार लिटर पानी तान्न सकिने प्राविधिकहरुले बताएका छन् । यसरी दैनिक ४ घण्टासम्म मात्रै सन्चालन गरेपनि तत्कालका लागि खानेपानीको समस्या टर्ने हिसावले योजना निर्माण गरिएको गाउपालिकाले जनाएको छ । छथर गाउँपालिकाका दर्जन बढी गाउँमा खानेपानीको चरम समस्या छ ।
पानी अभावकै कारण गाउँ वर्षेनि रित्तिदैछन् । गाउँमा रहेको खानेपानी समस्यालाई अल्पकालिन र सीघ्र समाधानका रुपमा बोरिङ प्रविधि अपनाइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो । पन्ध्र दिन अगाडि मात्रै गाउँपालिकाले बोरिङ प्रविधिको अध्ययन गर्न टोली परिचालन गरेको थियो । अध्ययन उपलब्धिमुलक हुनसक्ने देखिएपछि तुरुन्तै आयोजना निर्माण थालिएको हो ।
यही महिनामा रिजर्व ट्यांकी निर्माण गरिने र खानेपानीको वितरण गरिने प्रवक्ता नेपालीले बताउनुभयो । गाउँपालिकाका पन्चकन्या, हमरजुङ र ओख्रेका हिमाङदीन, वासिका, खिरखिरे, बाँसपानी, बाह्रबिसे, रातमाटे, खैरेनी लगायत टोलमा खानेपानी वितरण गर्ने तयारी रहेको प्रवक्ता नेपालीले बताउनुभयो । पानी सुविधा हुने भएपछि गाउँबासी पनि हर्षित भएका छन् ।
भिडियो हेर्नुहोस् ।
डिप बाेरिङ प्रविधि सफल्ता उन्मुख । ५ घण्टाकाे कडा मेहेनतले पानि अाउन थाल्याे ।
Posted by Santosh Tigela on Saturday, March 24, 2018