गुराँस न्युज ।  तेह्रथुमको छथर गाउँपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रुपमा सडक मिचेर निर्माण भएका घर टहरा हटाउन अन्तिम चेतावनी दिएको छ । यसअघि सार्वजनिक सूचना जारी गर्दै घर टहरा हटाएर बजारलाई सुन्दर बनाउन सहयोग गर्न आग्रह गरेको गाउँपालिकाले पुनः भत्काउन आग्रह गरेको हो ।

नभत्काए आफैँले भत्काउने समेत गाउँपालिकाले चेतावनी दिएको छ । गाउँपालिकाले ४८ घण्टाभित्र आफैँ भत्काउन आग्रह गरेको छ । सरकारी जग्गा तथा सडक मिचेर बनाइएका त्यस्ता टहरामा स्थानीयबासीले टुक्रे पसल, होटल सन्चालन गरिरहेका छन् ।

गाउँपालिकाले मुल सडकका लागि १० मिटर र अन्य सडकका लागि ७ मिटर छाडेर मात्रै घर टहरा बनाउन निर्देशन जारी गरेको छ । सडकमा निर्माण भएका त्यस्ता टहराहरु तत्कालै हटाउन गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

घर टहराका कारण सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै गाउँपालिकाले यस्तो मापदण्ड बनाएर लागु गर्न लागेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो । बजार क्षेत्रमा करिब ३ सय घरधुरी बसोबास गर्छन् । तीमध्ये करिब १५ वटा तत्कालै भत्काइनुपर्ने घर टहराहरु रहेका छन् । तर यो मापदण्डमा कोही पनि आवास विहिन नहुने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया