गुराँस न्युज । सरुवा रोगको प्रकोप कम हुँदै गएपनि नसर्ने रोगको संक्रमण वर्षेनि बढ्दै गएको चिकित्सकले बताएका छन् । अस्वस्थकर खानपिन, रहनसहन र वातावरणीय प्रभावका कारण नसर्ने रोगको संक्रमण बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले आयोजना गरेको स्वास्थ्य सेवा सम्बन्धी पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा.मुक्तिनारायण शाहले स्वास्थ्यप्रतिको हेलचेक्राई बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले त्यस्ता रोगको रोकथामका लागि खाना र व्यायामको महत्वबारेमा जनचेतना जगाउन आवश्यक भएको बताउनुभयो । ‘रोग लागिसकेपछि औषधी सेवन गर्नुभन्दा रोग लाग्नै नदिनु उचित हो, यो विषयमा सबै नागरिकहरु सचेत हुनु जरुरी छ,’ उहाँले भन्नुभयो ।

डा.शाहले सुर्तीजन्य पदार्थको सेवन, अनियन्त्रित मद्यपान, धेरै नुन र बोसोयुक्त खाना, बासी ढुसी परेको र अखाद्य रङ मिसाएको खाना, कीटनाशक तथा पोलेर डढेको माछामासु आदिको सेवनबाट नसर्ने रोगको प्रकोप बढिरहेको बताउनुभयो । बजारमा पाइने अखाद्य बस्तुको सेवन, फोहोर पानी र अव्यवस्थित रहनसहनका कारण ती रोगहरुको संक्रमण बढिरहेको उहाँले बताउनुभयो । जिल्लाका स्थित सन्चारकर्मीहरु सहभागी कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले स्वास्थ्यप्रति सबै सचेत रहनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालमा नसर्ने रोगको अवस्था, प्रकृृति, कारण र रोकथामका उपायहरुबारे कार्यालयका सूचना अधिकृत लभरेन्ज शाहले जानकारी गराउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाले जिल्लामा स्वास्थ्य सचेतना वृद्धिका लागि पत्रकारहरुले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रम जिल्ला स्वास्थ्य प्रमुख डा.मुक्तिनारायण शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपालमा करिब एक तिहाई जनसंख्यामा उच्च रक्तचापको समस्या रहेको छ । १५ प्रतिशतमा मधुमेह, हरेक वर्ष १० हजार नयाँ क्यान्सरका विरामी र बहिरङ्ग सेवातर्फ ४३ प्रतिशतमा नसर्ने रोगको संक्रमण रहेको छ । सरकारले २०७४ लाई मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ अभियान’ को रुपमा मनाउने निर्णय गरेको थियो । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले मेरा पाँच प्रतिवद्धता, स्वस्थ जीवनको आवश्यकता’ भन्ने अभियान चलाएका थिए ।

सो अभियान अन्तर्गत सरकारले म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्दिनँ, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गर्छु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने प्रतिवद्धता गराउने अभियान चलाएको थियो ।

तपाईको प्रतिक्रिया