• सुनसरीको बाराहक्षेत्र नगरपालिका ११ को मधुबनको सरदार बस्तीमा अघिल्लो हप्ता भएको आगलागीमा ४७ परिवारका ७० छाप्रा र टहरा जले  ।  एक करोड ३७ लाख रुपैयाँभन्दा बढीको क्षती भयो । पीडितको अझै बिचल्ली छ ।
  • गएको फागुन  ५ गते काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा आगलागी हुँदा काभ्रेका ६५ वर्षीय जीवनकुमार श्रेष्ठको ज्यान गयो । प्रहरीले दिएको जानकारी अनुसार घरमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।
  • फागुन १४ गते पुतलीसडकमा रहेको शेयर मार्केटमा आगलागी भयो । भवनमा राखिएको ग्याँस सिलिन्डरबाट आगो सल्किएको भएको प्रहरीको भनाई छ ।
  • यस्तै, चैत ७ गते सुन्धारामा मिठाई पसलमा आगलागी भयो । आगलागीमा परी २ जना घाएते भए । उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दिएको जानकारी अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो ।

यी त केही उदाहरण मात्र हुन् । हरेक वर्षजस्तै चैत सुरु भएपछि आगलागीका घटना बढ्न थालेका छन् । हाम्रो आफ्नै लापरवाहीका कारण आगलागीका घटना धेरै हुने गरेका छन् ।

काठमाडौं उपत्यकामा हेर्ने हो भने विद्युतका लाइन जथाभावी घरमा जोडिएका छन् । यसरी अव्यवस्थित रुपमा विद्युत जडान गरिएको ठाउँमा जुनसुकै बेलामा पनि विद्युत लाईन सर्ट हुन सक्छ र यसले ठूलो क्षति निम्तिन सक्छ ।

जुद्द वारुणयन्त्रका पूर्व प्रमुख लिलाराज गाछाले फागुन, चैतको महिनामा बढी नै आगलागीका घटनाहरु हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले उपत्यकामा लोडसेडिङ हुँदा आगलागी हुने गरेको थियो । छिनमै बत्ती आउने, छिनमै जाने हुँदा विद्युत सर्ट हुने सम्भावना बढी हुन्छ ।’

बत्ती गएपछि हामीले विद्युतीय उपकरण बन्द गर्ने गर्नुपर्छ । साथै विद्युतीय उपकरणहरु चलाउँदा ध्यान दिनुपर्छ । यो समयमा जंगलका छेउछाउमा फोहोर जलाउँदा पनि आगो लाग्ने सम्भावना बढी हुने गरेको छ । चुरोट खाएर ठूटा फाल्दा, सलाईका काँटी फाल्दा पनि आगो लाग्ने गरेको छ ।

सामान्यतया ग्रामीण भू–भागका वन जंगलमा घाँसपात राम्रो पलाओस् भनेर पनि जंगलमा आगो लगाउने गरिन्छ । यसरी जंगलमा आगो लगाउँदा कहिलेकाहीँ जंगल छेउका बस्तीहरु पनि जोखिममा पर्ने गरेका छन् ।

शहरी क्षेत्रमा आगो लाग्दा धेरै क्षति हुने गरेको छ । उपत्यकामा भएको बाक्लो र घना वस्तीका कारण पनि यहाँ एक ठाउँमा आगो लाग्यो भने आगो निभाउन समस्या देखिन्छ । बाक्लो बस्ती भएका कारण सबै बाटोमा दमकल पनि जान सक्दैन । उपत्यकाको अस्तव्यस्त शहरीकरणको कारण ट्रफिक जामले पनि उचित समयमा घटनास्थलमा पुग्न गाह्रो हुन्छ ।

बारुणयन्त्रका पूर्व प्रमुख गाछाले आफ्नो ४ वर्षको कामको अनुभव सुनाउँदै भन्नुभयो, ‘उपत्यकामा आगो लागिहाल्दा छिटो निभाउन नसक्नुको कारण यहाँको बाटो र जोडिएर बनेका घरहरु नै हो ।’ हामीले विकास गर्दा हुन सक्ने सम्भावित जोखिमलाई पनि ध्यान दिएर भौतिक संरचना बनाउनुपर्छ ।

आगलागीबाट बच्ने उपाय :

  • आफू बस्ने कोठा नजिकै फायर फाइटर राख्ने,
  • आफ्नो घर वरपरको फोहोर जलाउँदा विशेष ध्यान दिने,
  • विद्युतीय उपकरण प्रयोग गरिसकेपछि राम्रोसँग बन्द गर्ने,
  • अनावश्यक रुपमा विद्युतीय उपकरण नचलाउने,
  • आगो सल्किने सामानहरु बालबालिकाको पहुँचबाट टाढा राख्ने,
  • आगो लागिहाल्यो भने तत्काल नियन्त्रकलाई सम्पर्क गर्ने,
  • प्राथमिक उपचारका लागि आवश्यक सामग्री राख्ने ।

तपाईको प्रतिक्रिया