तेह्रथुम । बीस वर्ष पुराना गाडी विस्तापित गर्ने सरकारी नीतिका कारण तेह्रथुमका ग्रामीण क्षेत्रमा सञ्चालन हुने साना सवारीका साधनहरु ठप्प बनेका छन् । गाउँ–गाउँसम्म चल्ने सवारी नगुडेपछि गाउँबासीलाई आवत् जावत्का लागि सास्ती भएको छ । यहाँका ग्रामीण सडकमा सन्चालन भइरहेका अधिकांश सवारी विस्थापित भएका छन् ।

२० वर्ष नाघेका सवारी सन्चालन हुन नदिएपछि ग्रामीण क्षेत्रमा दैनिक सन्चालन सवारी सन्चालन हुन नसकेको सुनसरी यातायात व्यवसायी संघको तेह्रथुम ट्याक्सी काउण्टरका प्रमुख सन्तोष लिम्बुले बताउनुभयो । अहिले म्याङलुङ्ग देखि ओयाक्जुङ, पौठाक, जलजले, सिम्ले, सम्दु, आठराई र फिदिमसम्म दैनिक सन्चालन हुने सवारी रोकिएका छन् ।

यस्तै जिरीखिम्ती–श्रीजुङ र बसन्तपुर–साँघु सडक खण्डमा पनि सवारी नभएर सन्चालन हुन नसकेको काउण्टर प्रमुख लिम्बुले बताउनुभयो । जिल्लामा सन्चालन हुने अधिकांश गाडीहरु २० वर्ष नाघेका भएकाले अहिले सवारी साधनहरु कम मात्रै सन्चालन हुँदा यात्रुलाई मर्का परेको छ । विशेषगरि सदरमुकामदेखि विभिन्न गाउँसम्म सन्चालन हुने साना वान टेन, महिन्द्रा पिकअप र वान नाइन लगायतका गाडीहरु विस्थापित भएपछि दुर्गमका बासिन्दालाई सकस भएको छ ।

यातायात व्यवसायीहरुका अनुसार जिल्लाबाट वान टेन, वान नाइन, महिन्दा लगायत साना गाडीहरु ४५ वटा भन्दा बढी विस्थापितको सूचीमा परेका छन् । जिल्लाको सुदुरपुर्वी आठराई गाउँपालिकाका गाउँसम्म सन्चालन हुने सवारी नचल्दा यहाँका बासिन्दा पाँचथरबाट इलाम, झापा, मोरङ, सुनसरी हुँदै धनकुटा भएर सदरमुकाम आउन बाध्य बनेका छन् । व्यवसायीले कोशी अन्चलमा मात्रै २ हजार बढी गाडीहरु बीस वर्ष पुराना भएको र ती सबै गाडी विस्थापित गर्दा सबैतिर यस्तै समस्या हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया