तेह्रथुम । निर्माणाधिन मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको आठराई र पाँचथरको फिदिम जोड्ने तमोर नदी माथीको मोटरेवल पुल सञ्चालन भएको चार बर्ष नबित्दै पिलरको रड निस्किन थालेको छ । तमोर नदीकोे माझिटारमा रहेको २ सय मिटर लामो पुलको पिल्लरमा रड निस्किएर जोखिमपूर्ण बनेको छ ।

खोलामा पानीको बहाव घटेपछि तेह्रथुम पट्टी रहेको पिलरको ढलान उक्किएर रड देखिन थालेको हो । मोटरएवल पुलको खोलाको बिचमा यसरी रड देखिदा पुल जोखिमपूर्ण बन्दै जाने प्राविधिकहरुको भनाई छ । दैनिक सयौँ साना तथा मालबाहक सवारीका साधनहरु चल्ने पुलको पिलरको ढलान भत्किएर रड देखिएको ६ महिना हुन लाग्दापनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सडक डिभिजन कार्यालयले यसको मर्मतमा समेत ध्यान पु¥याएका छैनन् ।

मध्यपहाडी लोकमार्गका इन्जीनियरहरुले भने आफूहरुलाई पिलर भत्किएर रड देखिएको जानकारी नभएको बताएका छन् । पानीको चापका कारण पिलरमा थप क्षति हुनसक्ने बताईन्छ । डबल लेनको लोकमार्ग भएपनि पुल भने सिंगल लेनको छ । देखिएको रडमा खिया लाग्दै गएकाले जोखिमपूर्ण बनेको देखिन्छ । पिलरमा आरसिस भएको ठाँउमा रड देखिएको हो । रड देखिएको ठाँउबाटै पानी बगेको छ ।

पानीको चाप र पछिल्लो समय आएको बाढीले खोलाको गहि¥याई बढाएकाले पनि पिलरको बाहिरी आवरणमा क्षति पुगेर रड देखिएको हुन सक्ने मध्यपहाडी लोकमार्गका इन्जीनियर सुरेश तुम्हामफेले बताउनुभयो । भत्किएको पिलरको निरीक्षण गरि अर्को वर्ष पिलरको मर्मत गरिने इन्जीनियर तुम्हामफेको भनाइ छ ।

२०७० सालमा निर्माण सम्पन्न भएको पुलको ६ स्न्याप आरसिसि र ५० मिटरको एक स्न्याप ट्रस्ट रहेको छ । पुल लामा÷सपना कन्ट्रक्सन जेवीले २०६६ सालमा निर्माण ठेक्का लिएको थियो । पुल रु. १५ करोड १७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको थियो । पुल निर्माण पछि तेह्रथुमको आठराई गाउँपालिका क्षेत्रमा निकै चहल पहल बढेको छ ।

तपाईको प्रतिक्रिया