तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकाले वडास्तरमा रहेका सरकारी कार्यालयहरुको छड्के अनुगमन गरेको छ ।

गाउँपालिकास्तरीय कक्षा–८ को वार्षिक परीक्षा अनुगमनका क्रममा वडास्तरमा रहेका विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र अन्य सेवा प्रदायक कार्यालयको सेवा प्रवाहबारे अनुगमन गरेको हो । ती कार्यालयहरुको अनुगमन गरी सुधार्नु पर्ने विषयमा तत्काल निर्णय गर्दै अघि बढिरहेको गाउँपालिका अध्यक्ष हरि चोङवाङले बताउनुभयो । गाउँपालिकाले वडा नं. १, २ र ३ का कार्यालयहरुको अनुगमन गरेको छ ।

गाउँपालिका अध्यक्ष चोङवाङ, प्रमुख प्रशाशकीय अधिकृत सुमन लिङदेन, विषयगत शाखाका प्रमुखहरु, वडाध्यक्ष र वडा सदस्यहरु समेत रहेको टोलीले स्थानीय नागरिकहरुका गुनासा, जिज्ञासा र सुझावहरु समेत लिएको छ ।

नागरिकसँगको सम्बन्धलाई सुमधुर राख्दै सेवा प्रदायकहरुको सेवालाई सुशासनयुक्त र पारदर्शी बनाउन गाउँपालिकाले अभियानकै रुपमा काम थालेको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सुमन लिङ्देनले बताउनुभयो । अब बाँकी रहेका वडा नं. ४ र ५ मा पनि लगत्तै छड्के अनुगमन गरिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया