तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापका क्यान्सर पीडित तोर्ण मादेनलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले दुई लाख रुपैयाँ बढी रकम सहयोग गरेका छन् । सुदाप प्रवास सम्पर्क समिति मार्फत दक्षिण कोरियामा कार्यरत युवाहरुको सक्रियतामा मादेनको उपचारका लागि २ लाख ३२ हजार ६ सय ६१ रुपैयाँ सहयोग प्राप्त भएको हो ।
सो रकम आज शुक्रबारे बजारमा एक कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियामा कार्यरत युवाहरुबाट संकलन गरिएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको मादेन बचाऊ अभियानका अभियन्ता सन्तोष खेवाले बताउनुभयो । उक्त रकम गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बु र मादेन बचाऊ अभियानका अभियन्ता गुमान खेवाले संयुक्त रुपमा पीडित परिवारलाई हस्तान्तरण गर्नुभयोे । रोजगारीका लागि मलेसिया पुगेका मादेनलाई आन्द्राको क्यान्सर भएको छ ।
मादेनको उपचारकालागि यसअघि कतार, मलेसिया लगायत विभिन्न देशमा कार्यरत युवाहरुले सहयोग गरिरहेका छन् । मादेनका लागि यसअघि पनि २ लाख ९८ हजार रुपैयाँ बढी रकम सहयोग प्राप्त भइसकेको छ । मादेनको अहिले काठमाडौ स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।