तेह्रथुम । जिल्लामा राहदानी लिनेको संख्या वर्षेनि वृद्धि हुँदै गएको छ । जिल्ला प्रशाशन कार्यालयका अनुसार पछिल्ला तीन वर्षहरुमा क्रमशः राहदानी लिनेको संख्या वृद्धि हुँदै गएको हो । आर्थिक वर्ष २०७१÷०७२ यतामात्रै तेह्रथुमका ३ हजार ७ सय २ जनाले जिल्लाबाटै राहदानी लिएका छन् ।

आर्थिक वर्ष ०७१÷७२ मा ८ सय ५७, ०७२÷०७३ मा ९ सय ३१ र ०७३÷७४ मा १ हजार ९४ जनाले राहदानी लिएका सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिए । यो तथ्यांकलाई आधार मान्दापनि वर्षेनि राहदानी लिनेको संख्या क्रमशः बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा पनि कार्यालयले ८ सय २० जनालाई जिल्लाबाटै राहदानी दिएको छ ।

यसबाहेक द्रुत गतिको सेवा मार्फत २ हजार ९२ जनालाई राहदानीका लागि सिफारिस दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा जिल्ला प्रशासन कार्यालयबाट १ हजार १ सय ४६ जनालाई राहदानीका लागि सिफारिस दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

सोही वर्ष इलाका प्रशासन कार्यालय सक्रान्तिबजारबाट १ सय ८० जनालाई द्रुत गतिमा राहदानीका लागि सिफारिस दिइएको इलाका प्रशासन कार्यालयका प्रमुख कमल पनेरुले बताए । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा जिल्ला प्रशासनबाट ५ सय ९९ जना र इलाका प्रशासनबाट १ सय ६७ जनालाई द्रुत गतिको राहदानीकालागि सिफारिस दिएको छ । जिल्लाबाट वर्षेनि युवाहरु विदेशिने क्रम वृद्धि भइरहेको पाइएको हो ।

जिल्लाबाट विदेशिएकाहरुमध्ये अधिकांश युवायुवतीहरु मलेसिया, कतार, दुबई, साउदी अरब लगायत देशमा रोजगारीका लागि जाने गरेका छन् । नेपालको राष्ट्रिय जनगणना, २०६८ को तथ्यांक अनुसार जिल्लाको करिब १० प्रतिशत जनसंख्या विदेशमा रहेको अनुमान गरिन्छ ।

तपाईको प्रतिक्रिया