सुत्केरीलाई थप एक हजार यातायात खर्च, ८५ वर्ष माथिका वृद्ध वृद्धालाई वार्षिक एक हजार भत्ता,
तेह्रथुम । आर्थिक वर्ष सकिन चार महिनामात्रै बाँकी रहँदा बल्ल तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले गाउँ सभा गरेको छ । गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएपछि यत्तिका समयसम्म गाउँ सभा नै गर्न नसकेको गाउँपालिकाले बल्ल गाउँ सभा गरेको हो । सडक, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले बुधबार १६ करोड रुपैयाँ बढीको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाको अस्थायी केन्द्र मोराहाङ स्थित गौखुरी महिला बहुउदेश्यीय सहकारी संस्थाको हलमा भएको पहिलो गाउँ सभाबाट गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १६ करोड १६ लाख ५१ हजार ५ सय ८२ रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँ सभामा गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आर्थिक वर्षको बजेटबाट सडक, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
चालु आर्थिक वर्ष ०७४÷७५ कालागि विनियोजित बजेटमा पुँजीगत तर्फ ७ करोड ५२ लाख ५५ हजार ७ सय १२ रुपैयाँ तथा चालु तर्फ १ करोड ९९ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै विषयगत शाखातर्फ ६ करोड ६४ लाख ६० हजार ८ सय ७० रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले बताउनुभयो ।
साविक मोराहाङ, श्रीजुङ र पौठाक गाउँ विकास समिति मिलेर बनेको गाउँपालिकाले चालु आर्थिक वर्षका लागि आन्तरिक आय १० लाख रुपैयाँ हुने अनुमान गरेको छ । गाउँपालिकाको पहिलो बजेटले वडा कार्यालय जोड्ने सडकको स्तरोन्नति, आधुनिक कृषि प्रणालीको विकास र व्यवसायीकरण, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको प्रवक्ता वुढाथोकीले बताउनुभयो ।
पुँजीगत बजेटबाट सडक निर्माणतर्फ २ करोड ५७ लाख, शिक्षातर्फ ५३ लाख ७० हजार, पर्यटन गुरुयोजना निर्माणका लागि १० लाख र खेलकुद विकासकालागि २४ लाख ७५ हजार रुपैयाँ विनियोजन भएको छ । सडकतर्फ मोराहाङ–श्रीजुङ–सेखिम्बा सडकका लागि सबैभन्दा धेरै ७० लाख रुपैयाँ विनियोजन भएको छ । श्रीजुङ–पौठाक जोड्ने सडकका लागि ३५ लाख र सग्राते–लाबृ–डाँडागाऊँ सडकका लागि ३५ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिकाकी उपाध्यक्ष गीता गौतमले बताउनुभयो ।
गाउँपालिकाले छ वटै वडालाई पुँजीगत तर्फ ३५–३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सञ्चालन तर्फ सबै वडालाई ६ लाख ५० हजार रुपैयाँका दरले विनियोजन गरिएको उपाध्यक्ष गौतमले बताउनुभयो । गाउँ सभाले गाउँपालिकाका लागि शिक्षा, सहकारी, कृषि प्रवर्धन र न्याय सम्पादन ऐन समेत पारित गरेको छ । शैक्षिक गुणस्तर व्यवस्थापनका लागिका नयाँ शिक्षा ऐन बनाइएको गाउँपालिकाले जनाएको छ ।
उत्कृष्ट शिक्षकलाई प्रोत्साहन पुरस्कार र गरिब तथा न्युन आय भएका विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरी शैक्षिक गुणस्तर वृद्धिको प्रयास गरिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो । सहकारी ऐन मार्फत सहकारी संस्थाहरु सुदृढ गर्दै युवाहरुलाई स्वरोजगार बनाउने प्रयत्न गरिएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसुती गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरिदिएको छ । सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई आमा सुरक्षा कार्यक्रम अन्तर्गत प्रोत्साहन स्वरुप १ हजार रुपैयाँ र यातायात खर्च वापत ४ सय रुपैयाँ उपलब्ध गराउदै आएको छ ।
त्यसबाहेक स्वास्थ्य संस्थामै आएर प्रसुति गराउने साविक मोराहाङका महिलालाई थप १ हजार र श्रीजुङ र पौठाकका महिलालाई थप १ हजार ५ सय रुपैयाँ यातायात खर्च गाउँपालिकाले उपलब्ध गराउने भएको हो । पहिलो गाउँ सभाबाट मातृ तथा शिशु मृत्युदर कम गर्न तथा स्वास्थ्य संस्थाको पहुँच वृद्धि गर्न गाउँपालिकाले यस्तो नीति लिएको गाउँपालिका उपाध्यक्ष गौतमले बताउनुभयो ।
गाउँपालिकाले ८५ वर्षभन्दा माथिका वृद्ध वृद्धाहरुलाई सम्मान स्वरुप वार्षिक १ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
लामो समयसम्म गाउँपालिकाको केन्द्र विवादमा अल्झिएका जनप्रतिनिधिले अन्ततः गाउँको विकास रोकिएको भन्दै प्रदेश सरकारले भवन निर्माणकालागि बजेट उपलब्ध गराएपछि मात्रै केन्द्रको विषयमा निर्णय लिने सहमति गरेका छन् । हाललाई तत्कालिन गाउँपालिकाको कार्यालय स्थापना भएकै ठाउँमा केन्द्र राखेर काम गर्न सहमति भएपछि गाउँ सभा सुरु भएको थियो । उपाध्यक्ष सहित बहुमत सदस्य जितेको नेपाली कांग्रेसका जनप्रतिनिधिले गाउँ पालिकाको केन्द्र सार्न माग गरेपछि गाउँ सभा हुन सकेको थिएनँ ।