तेह्रथुम । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाकोे अध्यक्षमा श्रीकृष्ण दाहाल सर्वसम्मत चयन हुनुभएको छ । जिल्ला शाखाको आज सम्पन्न २८ औँ जिल्ला सभाले दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । शाखाको मन्त्रीमा गजेन्द्र कन्दङवा र कोषाध्यक्षमा विरबहादुर केसी चयन हुनुभएको छ । यस्तै शाखाको सदस्यमा तुलसीप्रसाद भटराई, लक्ष्मण खनाल, कमला दर्नाल, खिलानाथ ढकाल, टिकाराम खुलाल, गिरिराज सुवेदी, भीमप्रसाद घिमिरे, दधिराम न्यौपाने, जयप्रसाद उप्रेती र देवीप्रसाद निरौलालाई सर्वसम्मत चयन हुनुभएको छ ।

आइतबार भएको सभाको उद्घाटन सत्रमा शाखाका कार्यवाहक मन्त्री लक्ष्मण खनालले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दधिराम न्यौपानेले १४ लाख ४ हजार ३७ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन गर्नुभयो । सभाकै अवसरमा रेडक्रसले लामो समयदेखि जिल्ला शाखा कार्यसमितिमा रहेर काम गर्ने उपसभापति लोकबहादुर फुदोङलाई सम्मान समेत गरेको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य लक्ष्मण तिवारीले नेपाल रेडक्रस सोसाइटीलाई संघीय संरचनामा बदल्न सुझाव दिनुभयो । उहाँले रेडक्रसले गर्दै आएका कार्यहरु प्रशंशानीय भएको भन्दै यसलाई अझै प्रभावशाली र निष्पक्ष बनाएर काम गर्न सुझाउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य वासुदेव गौतम, धनकुटाका सभापति नरेन्द्र पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, गैर–सरकारी संस्था महासंघका अध्यक्ष अनुभुतिवम नेपाली, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष नरेश ढुंगाना लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

जिल्लामा २०३० सालमा शाखा विस्तार गरेको रेडक्रसका हाल १५ वटा उपशाखा, २ हजार २६ जना आजीवन सदस्य, ६ सय २७ जना युवा रेडक्रस सदस्य तथा ८ हजार ७ सय ८१ जना जुनियर सदस्यहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया