– प्रकाश धौलाकोटी,
तेह्रथुम । असिनाले सेताम्मे बनेको गुफापोखरी आसपास आन्तरिक पर्यटकहरु रमाइरहेका देखिन्थे । बाह्य पर्यटकहरु पनि घुमिरहेका थिए । हिउँले ढाक्नु पर्ने गुफापोखरी र गुफाबजार क्षेत्रमा शनिबार वर्षासँगै परेको असिनाले सेताम्मे बनेको थियो ।
संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी स्थित २ हजार ९ सय मिटर भन्दा माथिको उचाईमा रहेको यो क्षेत्रमा बाह्रै महिना पर्यटक पुग्छन् । हिउँमा खेल्न आएका पर्यटकहरु असिनामा खेलेर फिरेका गुफाबजारकी लाक्पा फुटिक शेर्पाले बताउनुभयो ।
‘गुराँस फुल्दा धेरै पर्यटक आउँछन्, उहाँ भन्नुहुन्छ, ‘यहाँ बाह्रै महिना पर्यटक आउँछन्, हिउँदमा विदाका दिन शनिबार आन्तरिक पर्यटकको घुँइचो लाग्छ ।’
यो क्षेत्र गुराँसको राजधानीको रुपमा परिचित तीनजुरे मिल्के जलजले क्षेत्रको मुख्य आकर्षण पनि हो । गुफा नजिकै रहेको पोखरीको नाम गुफापोखरी राखिएको र गुफापोखरी नजिकै रहेको बजारको नाम पनि गुफाबजार रहन गएको स्थानीयबासी बताउँछन् ।
यो बजार तीनजुर मिल्के क्षेत्रको सबैभन्दा माथिल्लो र विकसित बजार हो । यो बजार भन्दा माथि गएपछि खान र बस्नका लागि उपयुक्त व्यवस्था भएका होटल र लजहरु छैनन् । त्यसैले पनि यहाँ पर्यटकहरुको चाप हुने गर्छ ।