तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले घर–घरमै पुगेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । प्रथम स्थानीय तह स्थापना दिवसको अवसरमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकहरुको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै घरैमा पुगेर स्वास्थ्य परीक्षण गरी औषधोपचारका लागि परामर्श दिने घोषणा गरेको हो ।
गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान–२०७४ घोषणा गर्नुभयो । सो अभियान चालु आर्थिक वर्षको चैत्र १५ गतेबाट तीन महिनासम्म सन्चालन हुनेछ भने हरेक ३–३ महिनाको फरकमा निरन्तर सो कार्यक्रम सन्चालन भइरहने गाउँपालिका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।
ज्येष्ठ नागरिकहरुलाई सहज र सुर्लभ ढङ्गले स्वास्थ्य सेवा दिन यस्तो अभियान थालिएको गाउँपालिकाले जनाएको छ । स्थानीय तह स्थापना दिवसको सन्दर्भमा गाउँपालिकाले तत्कालिन गाउँपालिका प्रमुख गुणराज बानियाँलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा स्थानीय तह सन्चालन ऐनका बारेमा गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सुर्यबहादुर भण्डारीले जानकारी गराउनुभएको थियो । गाउँपालिकाले अहिले सम्म गरेको कामको समिक्षा, तथा जनचासोको विषयमा समेत गाउँपालिका अध्यक्ष लिम्बुले सहभागीलाई प्रष्ट पार्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष तारा ढकाल, सल्लाहकार समितिका सदस्य दिल पाक्साँवा, सुर्य मादेन, तेजबहादुर कटुवाल, इन्द्र इम्सुङ र जीवन लुईटेलले समृद्ध छथर निर्माणका लागि विभिन्न कार्यक्रम तथा योजनाहरुबारे बताउँदै शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रम छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।