तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सोल्माका अग्नीपीडितलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले राहत वितरण गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल सहितको टोलीले विहीबार आगलागीस्थलको अवलोकन समेत गर्दै पीडित परिवारलाई नगद २० हजार सहित अत्यावश्यक खाद्यान्नका सामाग्री वितरण गरेको हो ।
मंगलबार दिउँसो भएको आगलागीबाट छ घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए । तर पुर्ण रुपमा विस्थापित ३ परिवारलाई मात्रै अहिले तत्काल राहत वितरण गरिएको छ । लोकनाथ न्यौपाने, नेत्र अधिकारी र लक्ष्मी अधिकारीको परिवारलाई प्रति परिवार नगद २०–२० हजार, चामल प्रति परिवार ४०, चिनी, दाल र तेल ५–५ केजी, चिया २–२ प्याकेट उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो ।
बनमा लागेको आगो गाउँमा सल्किँदा लोकनाथ न्यौपाने, गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना र पशुपति लुइटेल घर जलेर नष्ट भएका थिए । मान्छे नबस्ने खाली घर भएकाले गोविन्द अधिकारी, एकराज तिम्सीना र पशुपति लुईटेललाई अब समितिको बैठक बसेर निर्णय भएपछि मात्रै राहत उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभएको छ ।