तेह्रथुम । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सचिव सुदेश पराजुलीले वाम–पार्टीहरुको एकतासँगै विद्यार्थी संगठनहरुको समेत एकता हुने बताउनुभएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहित वाम पार्टीहरुको एकतापछि विद्यार्थी भातृ संगठनहरुको समेत एकिकरण हुने र विद्यार्थी आन्दोलन अझै शशक्त रुपमा अघि बढ्ने बताउनुभयो । संगठन सुदृढिकरणको शिलशिलामा विहीबार तेह्रथुम आइपुग्नु भएका सचिव पराजुलीले विद्यार्थी नेता तथा सन्चारकर्मीसँग कुराकानीको क्रममा अनेरास्ववियु विद्यार्थी हितको काम गर्ने क्रममा सत्ता पक्षको विपक्षमा समेत उभिने गरेको भन्दै संगठनकी अध्यक्ष नवीना लामा सांसद भएपछि अब संगठन पुनःगठन गर्ने तयारी भइरहेको बताउनुभयो ।
पार्टीले भातृ संगठनको अधिवेशन तत्कालै नगर्ने निर्णय गरेकाले पुनःगठित समितिको अध्यक्षमा आफुले दाबी गर्ने उहाँको भनाइ थियो । तेह्रथुममा यसअघि पुनःगठित समितिका पदाधिकारी तथा सदस्यहरुले भने आज पदभार ग्रहण गरेका छन् । अनेरास्ववियु तेह्रथुमले १४ गतेबाट जिल्ला अधिवेशन गर्ने तयारी गरेपनि तत्काल स्थगित गर्न निर्देशन भएपछि राजेन्द्र दुलालको अध्यक्षतामा ३९ सदस्यीय कमिटि पुनर्गठन गरिएको थियो ।
सो समितिले आज पुर्णता पाएको छ । समितिको उपाध्यक्षमा रुद्र खनाल, सचिवमा सोमनाथ आचार्य, सहसचिवमा सविन लिम्बु, सुरेश खत्री, तारा खतिवडा र कोषाध्यक्षमा सन्तोष तामाङ चयन हुनुभएको छ । पुनगठित समितिका पदाधिकारी र सदस्यहरुलाई पदभार ग्रहण गराइएको छ ।
कार्यक्रममा केन्द्रीय सचिव सुदेश पराजुली, केन्द्रीय सदस्य तथा पुर्व जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य जयन्ती राई र एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभा १ का सांसद लक्ष्मण तिवारी लगायत एमाले नेताहरुको उपस्थिति रहेको थियो ।