तेह्रथुम । आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण भन्ने नाराका साथ विहीबार १०८ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । दिवसको अवसरमा तेह्रथुममा पनि विभिन्न कार्यक्रम भएका छन् । सदरमुकाम म्याङलुङ्ग सहित मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ, फेदाप गाउँपालिकाको पोक्लाबाङ र आठराई गाउँपालिकाको सक्रान्तिबजार र लालीगुराँस नगरपालिकाको बसन्तपुरमा विभिन्न सचेतनामुलक ¥याली सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।

वडास्तरमा समेत दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष ८ मार्चमा नारी दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९७४ देखि नारी दिवस मनाउन थालिएको हो । सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्षको आठ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा सदममुकाम म्याङलुङ्गमा बसपार्कबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको माथिल्लो सभाहलमा पुगेर सभामा परिणत भएको थियो । सभामा यौन तथा प्रजनन् अधिकारका सम्बन्धमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख प्रेमलता घिमिरेले महिलाहरुलाई यौन तथा प्रजनन् शिक्षाको विषयमा थाहा नहुँदा पीडित भइरहेका भन्दै यसबारे प्रचार प्रसारको खाँचो रहेको बताउनुभयो ।

उपप्रमुख घिमिरेले असुरक्षित गर्भपतनले महिलाको जीवन जोखिममा पर्ने भएकाले यस्तो कार्यलाई रोक्नका लागि जिल्ला स्थित सम्पुर्ण स्थानिय तह तथा सरोकारवालाहरुले आ–आफ्नो ठाउबाट पहल गर्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले महिलाहरुको प्रजनन् अधिकारबारे सबैलाई जानकारी गराउनु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा आइपास नेपालका जिल्ला संयोजक केदार भन्डारीले यौन तथा प्रजनन स्वास्थ्यसंग सम्वन्धित कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा म्याङलुङ्ग नगरपालिकाका उपमेयर पार्वतीसानु डाँगी, महिला तथा बालबालिका कार्यालयका प्रमुख शान्ता पौडेल, अन्तरपार्टी महिला संजाल तेह्रथुमका अध्यक्ष फुर्वी सेर्पा, नेपाल पत्रकार महासंघ तेह्रथुमका सभापति नरेश ढुंगाना लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । म्याङलुङ्ग नगरपालिका र आइपास नेपालको सहयोगमा महिला तथा बालबालिका कार्यालय सहित जिल्ला स्थित सम्पुर्ण महिला अधिकारबादी संघसंस्था र समृद्ध तेह्रथुमका लागि अभियानको संयुक्त आयोजनामा भएको कार्यक्रम समृद्ध तेह्रथुमका लागि अभियानका अध्यक्ष महेन्द्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेदापले लियो लैङ्गिक हिंसा नगर्ने प्रतिवद्धता

फेदाप गाउँपालिकाले गाउँबासीहरुबाट लैङ्गिक हिंसा नगर्ने प्रतिवद्धता लिएको छ । गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागीलाई ‘म लैङ्गिक हिंसा नगर्ने प्रतिवद्धता जनाउदछु ।’ लेखिएको व्यानरमा हस्ताक्षर अभियान सन्चालन गरी प्रतिवद्धता लिइएको गाउँपालिकाका प्रशाशकीय अधिकृत सुमन लिङदेनले बताउनुभयो । सो अवसरमा भएको खुला वक्तृत्वकलातर्फ अनुजा चम्लागाई प्रथम, विपना बुढाथोकी द्धितीय र रथिसा बुढाथोकी तृतीय भएका छन् ।

उनीहरुलाई क्रमशं ३ हजार, २ हजार र १ हजार सहित प्रमाण पत्रसहित पुरस्कृत गरिएको छ । यस्तै खुला नृत्य प्रतियोगिता तर्फ सल्लेरी आमा समुह प्रथम, महिला अधिकार मन्च ओयाक्जुङ द्धितीय र नयाँ बजार समुह जलजले तृतीय भएका छन् । उनीहरुलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित प्रमाण पत्रले पुरस्कृत गरिएको छ । यसअघि दिउँसो सचेतनामुलक ¥यालीले बजार परिक्रमा गरी सभामा परिणत भएको थियो । गाउँपालिकाका अध्यक्ष हरि चोङवाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशाशकीय अधिकृत सुमन लिङदेन, वडाध्यक्षहरुको तर्फ वडा नं. १ वडाध्यक्ष मनबहादुर श्रेष्ठ, वडासदस्य योगेन्द्र कुरुम्बाङ र महिला सदस्य गीतादेवी कार्कीले मन्तव्य राख्नुभयो । कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष गीतादेवी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मेन्छ्यायेममा पनि र्याली र अन्तरक्रिया 

उता मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङमा पनि सचेतनामुलक प्ले–कार्डसहितको ¥यालीले बजार परिक्रमा गरि प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अन्तरत्रिया भएको छ । कार्यक्रममा भीमकुमारी अधिकारीले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका सम्बन्धमा सहजीकरण गर्नुभएको थियो । समृद्ध तेह्रथुमका लागि अभियानको आर्थिक सहयोग तथा महिला अधिकार मन्च र गौखुरी महिला बहुउदेश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीता गौतम लगायतले बोल्नुभएको थियो । कार्यक्रम पुष्पा गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । उता आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा पनि क्षेत्रीय महिला अधिकार मन्चको आयोजनामा ¥याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

महिला अधिकारकर्मी कार्की सम्मानित

अन्तरािष्ट्रय महिला दिवसकै सन्दर्भ पारेर नेपाल लाइफ इन्सुरेन्स, तेह्रथुम उपशाखाले महिला अधिकारकर्मी शान्तिला कार्कीलाई सम्मान गरेको छ । केही महिनायता अस्वस्थ रहनुभएकी अधिकारकर्मी कार्कीलाई उपशाखा व्यवस्थापक चेतराज श्रेष्ठ सहित कर्मचारी र अभिकर्ताहरुको टोलीले घरैमा पुगेर शीघ्र स्वास्थ्य लाभको कामना सहित दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेको हो । आजै अभिकर्ताहरुका लागि पुनर्ताजकी तालिम समेत सन्चालन गरिएको शाखाले जनाएको छ ।

कुल चुक्ता पुँजी ३ सय ९ करोड रहेको सो इन्सुरेन्सले ल्याएका नयाँ बिमा योजना र कार्यक्रमबारे छलफल भएको कार्यालयका लेखा प्रमुख झमक खड्काले बताउनुभयो । तेह्रथुममा ३ करोड बढी रुपमा बीमाङ्क संकलन गरेको सो कम्पनीले ६५ देखि ८२ प्रतिशतसम्म बोनस उपलब्ध गराउदै आएको छ ।

तपाईको प्रतिक्रिया