तेह्रथुम, फागुन २२ । वनमा लागेको डढेलो गाउँमा पस्दा मंगलबार तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सोल्माका ६ ओटा घर जलेर नस्ट भएका छन् ।
स्थानीय गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नस्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।
गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा दिउँसो ३ बजेतिर सल्किएको आगो हावाहुरीका कारण गाउँमा पसेको थियो ।
साढे ३ बजेदेखि घरमा सल्किएको आगोबाट फुसको छानो भएका, पालीसहितका ६ ओटा घर, लत्ताकपडा, नगद र गरगहनासमेत जलेर नस्ट भएको वडाध्यक्ष तुलसीराम खनालले बताए ।
उनकाअनुसार आगोलागीबाट ४४ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको छ ।
आगो सल्किएपछि तुरुन्तै आगो निभाउने जनशक्ति र पानी दुवै अभाव भएकाले ठूलो क्षति भएको प्रजिअ खनालले बताए ।
६ ओटै घरमा आगो सल्किएपछिमात्रै प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीले स्याउलाले हिर्काएरै मंगलबार साँझ ६ बजे आगो नियन्त्रणमा लिएका थिए ।
लालीगुराँस नगरपालिकासँग दमकल भएपनि सडक नभएका कारण आगो निभाउन समस्या भएको हो ।
वडाध्यक्ष खनालकाअनुसार वनमा आगो मान्छेले नै लगाएको भन्ने खुलेपनि कसले लगाएको भन्ने थाहा भएको छैन ।
वनमा आगो लगाउनेकाबारेमा उजुरी आए आफूले मुद्दा दर्ता गरी कारबाही गर्ने प्रजिअ खनालले बताए ।
जलेका ६ ओटामध्ये दुईओटा घरमा मान्छे बस्ने गरेका थिएनन् । गुरु लुइँटेल र एकराज तिम्सिनाले जमिन बाँझै र घर खाली नै छाडेर गत वर्ष नै बसाइँ सरेका थिए ।
बाँकी रहेका गोविन्द अधिकारीको चारजना, लक्ष्मी अधिकारीको ६ जना, नरेन्द्र अधिकारीको पाँचजना र लोकनाथ न्यौपानेको पाँचजनाको परिवार आगोलागीले घर जलेपछि मंगलबार छिमेकीको शरणमा परेका छन् ।
उनीहरुलाई बुधबार राहत उपलब्ध गराउने जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रजिअ खनालले जानकारी दिए ।
वनबाट नजिकमा रहेको गाउँमा लहरै घर भएकाले सबै घर जलेको घटनास्थलमा पुगेका प्रहरी हवल्दार दीपेश चौधरीले बताए ।