तेह्रथुम । चिया क्षेत्रमा पेशागत स्वास्थ्य र सुरक्षाबारे किसान अनविज्ञ रहेको पाइएको छ । चियासँग सम्बन्धित व्यवसाय गर्दा स्वास्थ्य र सुरक्षामा हुनसक्ने जोखिमको जानकारी नभएको किसानले बताएका हुन् । केन्द्रीय चिया सहकारी संघ लिमिटेडले सदरमुकाम म्याङलुङ्गमा गरेको ‘चिया क्षेत्रमा पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी सुधारकालागि सरोकारवालाहरुको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा सहभागी किसान, व्यवसायी र मजदुरले पेशागत स्वास्थ्य र सुरक्षाबारे अनविज्ञ रहेको बताएका हुन् ।

चिया खेतीमा वर्षौँ देखि लागिरहे पनि किसान, व्यवसायी र मजदुरहरुलाई पेशागत स्वास्थ्य र सुरक्षाबारे केही थाहा नभएको पाइएको हो । कार्यक्रममा सहभागी लालीगुराँस नगरपालिका–९, सोल्माका किसान वीरबहादुर बस्नेतले आफुले १० वर्षदेखि चिया खेती गर्दै आएको तर अहिलेसम्म पेशागत स्वास्थ्य र सुरक्षाबारे थाहा नभएको बताए ।
‘यसबारे खासै थाहा थिएनँ, काम गर्दा सामान्य सतर्कता त त्यसैपनि अपनाइन्थ्यो,’ उनले भने । गाउँमै चिया प्रशोधन मेसिन जडान गरी उद्योग खोलिएपनि त्यसमा काम गर्दा अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे केही थाहा नभएको छथर गाउँपालिका–१, शुक्रबारेका चिया किसान विष्णुसिंह ठकुरीले बताए ।

‘मेसिन छ, हरियो पत्ती पनि छ, अब प्रशोधनको काम यही वर्षबाट थाल्छौँ,’ उनले भने, ‘तर त्यहाँ काम गर्दा कसरी गर्ने सबै थाहा छैन ।’ व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका विज्ञ माधव विष्टका अनुसार एउटा कामदार, किसान वा कर्मचारीले काम गर्ने शिलशिलामा उमेरमा हुने परिवर्तन बाहेक अन्य कुनै पनि परिवर्तन नहुनु वा स्वास्थ्य ह्रास नहुनु हो ।
व्यवसायजन्य स्वास्थ्य र सुुरक्षाका अवधारणाहरु कुनै काम, पेशा व्यवसाय वा खेती गर्दा वा व्यवसायिक प्रक्रियामा सहभागी हुँदा लागु हुन्छन् । कामदार, किसान वा कर्मचारीले शारीरिक रुपमा विना कुनै जोखिम आनन्ददायी बातावरणमा काम गर्न पाउनुपर्छ । तर चिया खेती, उद्योग वा व्यवसायमा संलग्नहरुले त्यस्तो स्वास्थ्य र सुरक्षाको विषयमा ध्यान नदिएको पाएको विष्टले बताए ।

््
उनले भने, ‘किसानले आफैँ मालिक र कामदार पनि हुन्, जुनसुकै खेती गरेपनि त्यो खेती गर्ने क्रममा शारीरिक, मानसिक वा मनोवैज्ञानिक रुपमा अस्वस्थ हुनुहुदैनँ, तर यहाँ किसानले यी विषयमा ध्यान दिन सकेका छैनन् ।’ जिल्लाका किसानले चिया खेती गर्नेक्रममा खनजोत, रोपण, गोडमेल, काँटछाँट, मुना टिप्ने, हरियो पत्ती केलाउने, प्रशोधन गर्ने जस्तो क्रियाकलापमा संलग्न हुँदा आफ्नो शरीर र स्वास्थ्यप्रति ध्यान दिने गरेका छैनन् ।

यसरी स्वास्थ्य र सुरक्षाका विषयमा ध्यान नदिँदा किसानले चिया खेतीबाट उत्पादन बढी लिन सकेका छैनन् भने उनीहरुको स्वास्थ्यमा समेत जोखिम थपिनेक्रम छ । जलकन्या चिया उत्पादक सहकारी संस्था जिरिखिम्तीका सदस्य गणेश भट्टराईले स्वास्थ्य र सुरक्षाका विषयमा ध्यान दिन नसक्दा किसानलाई विभिन्न दिर्घ रोगहरुको संक्रमण र तत्कालै हुने शारीरिक समस्याहरु व्याप्त रहेको बताए ।

‘काँट छाँट गर्दा छुरा चलाउनुपर्छ, त्यही छुराले हात र खुट्टामा चोट पु¥याउँछ, बगान गोडमेल गर्दा सर्पले टोक्छ, नाङ्गो हातले चिया टिप्दा कतिपय बेला काँडाले घोचेर हात रक्ताम्य पनि हुन्छ,’ उनले समस्या सुनाए । त्यस्ता जोखिमबाट बच्न बुट लगाउने, ग्लोब, पन्जा, हेलमेट, एप्रोन, चस्मा लगायत सुरक्षाका साधनहरुको प्रयोग गर्नु आवश्यक हुन्छ ।
किसानले यी सामान्य कुराहरुमा समेत लगानी गर्न हेलचेक्राई गर्ने गरेको जिल्ला चिया सहकारी संघकी महासचिव दिलकुमारी लिम्बुले बताइन् । ‘मुख्यतः हरियो पत्तीको मुल्य पनि राम्रो छैन, हामीले सुरक्षाका साधनबारे थाहा पाएर पनि खरिद गर्न आर्थिक समस्या पर्छ,’ उनले भनिन् । यहाँ उत्पादित हरियो पत्तीको मुल्य प्रति केजी ५६ रुपैयाँमा कारोबार भइरहेको छ ।

किसानले उत्पादन मुल्यभन्दा १० रुपैयाँ कममा हरियो पत्ती विक्री गर्नुपरेको गुनासो गरेका छन् । हरियो पत्तीको मुल्य ८० रुपैयाँ प्रति केजी कायम हुनुपर्ने किसानको माग छ । ‘आफ्नो स्वास्थ्यको चिन्ता त सबैलाई हुन्छ, काम गर्दा स्वास्थ्य भन्दा बढी परिवार कसरी चलाउने भन्ने सोच्नुपर्छ,’ चिया किसान नारदमणि राईले भने ।
चिया खेती प्रविधि र बजारबारे ज्ञान नहुँदा आफुहरुले चिया खेतीबाट भनेजस्तो राम्रो आम्दानी लिन नसकिरहेको किसान राईले बताए । किसानले सरकारले चिया खेतीको विकास र विस्तारका लागि स्पष्ट नीति बनाएर काम थाल्नुपर्ने बताएका छन् । उनीहरुले चिया खेतीको क्षेत्रमा सरकारले कम लगानी गरेको भन्दै अन्य कृषि उपजहरुमा जति पनि लगानी नगरेकोमा गुनासो गरेका छन् ।

चिया तथा कफी विकास बोर्ड अन्तर्गतको चिया विस्तार योजना सोल्माको प्रदर्शन गर्न निर्माण गरिएको बगैँचामा समेत मजदुरहरुले स्वास्थ्य र सुरक्षाको विषयमा जानकारी नहुँदा सेवा सुविधा नपाइरहेको बताएका छन् । उनीहरुले योजनाले आफुहरुलाई काम गर्दा लगाउनुपर्ने सुरक्षाका उपकरणहरु खरिद गरेर नदिएको गुनासो गरेका छन् ।

अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजित सो कार्यक्रममा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाका विज्ञ माधव विष्टले सहभागीहरुलाई सोबारे जानकारी गराएका थिए । केन्द्रीय चिया उत्पादक सहकारी संघ लिमिटेडका महासचिव रविन राईले प्रदेश नं. १ लाई नै ‘चियाको हब’ बनाउन लागिरहेको बताए । चिया क्षेत्रको विकास र विस्तारका लागि उत्पादन, प्रशोधन तथा बजारीकरणका क्षेत्रमा निरन्तर क्रियाशील केन्द्रीय चिया सहकारी संघले चिया उत्पादन हुने इलाम सहित तेह्रथुम, पाँचथर र धनकुटामा चिया क्षेत्रमा पेशागत स्वास्थ्य र सुरक्षाबारे छलफल गरिरहेको संघका महासचिव राईले बताए ।

तपाईको प्रतिक्रिया