प्रकाश धौलाकोटी,

तेह्रथुम । पराई मुलुकमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव भोगेर आएकाहरुलाई मात्र थाहा हुन्छ । बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र धेरै कमाउने सपना बाकेर जानेहरु त्यस्तै अनुभव लिएर फर्किन्छन् । र अन्ततः बाबु बाजेकै कोटीमा उभिन्छन् ।

त्यही कोटीमा उभिनुभएको छ, जिल्लाको फेदाप गाउँपालिका–२, ओयाक्जुङका ४० वर्षे खगेन्द्र जोगी । धेरै कमाउने दाउमा लाखौँ रुपैयाँ ऋण काढेर परदेश पुग्नुभएका जोगी अहिले गाउँ फर्किएर व्यवसायिक खेतीमा लाग्नुभएको छ । ‘साहु काढेर विदेशिए, दुबईमा दुई वर्ष बस्दा सबै कुरा चेतेँ,’ उहाँ भन्नुहुन्छ, ‘काम गरेरै कमाउँछु भन्नेले विदेश नजानु ।’

उहाँले अगाडि भन्नुभयोे, ‘यहाँ गाउँमा काम गर्छु भन्दा ठाउँ जत्ति छ, तर त्यहाँ काम गर्छु भन्दा न काम पाइन्छ, न त समयमै काम गरेको पारिश्रमिक नै ।’ परिवारदेखि टाढा बस्नुको पीडाले परदेशमा हुँदा धेरै पिरोलेको उहाँले बताउनुभयो । त्यहाँ गर्ने जत्ति मेहिनेत आफ्नै माटोमा गरे सुन फल्छ भन्नुहुन्छ खगेन्द्र । अहिले उहाँले गाउँमै बसेर वार्षिक १० लाख रुपैयाँ बढी कमाई गर्नुहुन्छ ।

चार वर्ष अघि उहाँले २६ हजार अलैँची विरुवा खरिद गरेर खेती थाल्नुभएको थियो । सुरुमा खेती थाल्दा दुई लाख रुपैयाँ लगानी गरेको उहाँले बताउनुभयो । ‘भनेजस्तो विरुवा गाउँमा नपाइने रहेछ,’ उहाँले भन्नुभयोे, ‘मैले अलैँचीका विरुवा पनि इलामबाट खरिद गरेँ, गाउँमा अलैँचीका विरुवा कत्ति चाहिएको छ कत्ति, यही विरुवा उत्पादन गरेपनि राम्रो आम्दानी हुन्छ ।’

सिंगो गाउँ नै अलैँची खेतीबाट आश्रित छ अहिले । खगेन्द्र जस्ता धेरै किसानले अलैँची गरिरहेका छन् ओयाक्जुङमा । ‘मैले यसवर्ष १० मन अलैँची विक्री गरेँ, अहिलेको भाउले पनि राम्रो कमाई छ,’ उहाँ भन्नुहुन्छ, ‘विरुवा यताउति गर्दाखेरि वार्षिक १० लाख रुपैयाँ त कमाई हुन्छ ।’ अन्य खेतीमा भन्दा अलैँची खेतीमा मेहिनेत गर्नसके राम्रो फाइदा हुने उहाँले बताउनुभयो ।

‘एक मन फलेपनि १० मन धान आउँछ । त्यति धान फलाउन जति मेहिनेत गर्नुपर्छ, अलैँचीमा त्यति मेहिनेत पर्दैनँ,’ उहाँले भन्नुभयो । आफुले लगाएको बगानमा अब दुई वर्षपछि २० मन बढी उत्पादन हुने खगेन्द्रले बताउनुभयो । ‘यत्तिका जमीनमा अलँैची खेती छ, अहिले एक्लैले भ्याएको छु, टिप्न र भट्टी लगाउन मात्रै साथी चाहिन्छ, बाँकी सबै आफैँ गर्छु,’ उहाँले भन्नुभयोे । विहान उठेदेखि साँझसम्म पनि खगेन्द्र अलैँची बगानमै काम गर्नुहुन्छ ।

बेसिजनमा पनि अलैँची मर्न लागेकालाई हेरचाह गर्ने, मरेकामा नयाँ विरुवा रोप्ने, पानी लगाउने, फाँड्ने, गोडमेल गर्ने आदि काम उहाँका दैनिकी जस्तै हुन् । उहाालाई अलैँचीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने काम गरेको अनुभव छ, तर अलैँची खेती कसरी गर्ने र आधुनिक प्रविधि के हो ? भन्ने थाहा छैन । उहाँलाई शारीरिक सुरक्षाका लागि बुट, ग्लोब, हेल्मेट र अन्य स्वास्थ्य सुरक्षाका उपायहरुबारे पनि ज्ञान छैन ।

चप्पल लगाएर बगानमा कुलो डो¥याउँदै गरेका उहाँले भन्नुभयोे, ‘यो काम सजिलै छ, हूँदा बुटसम्म लगाउने हो, त्यो पनि छैन, यत्तिकै पनि काम चल्छ ।’ बगानमा काम गर्दा बुट समेत नलगाई काम गरेका जोगीलाई बगानमा हुने सर्पले टोक्न सक्छ भन्ने चाँहि थाहा छ । बगानमा उम्रिएका झाँडी फाँड्दा सिक्कल उछिट्एर कत्तिपटक हातमा पनि चोट लागेको छ । वर्षाका दिनमा अलैँची बगानमा पस्दा पानी निथुक्क भिजाउछ । अलैँची बगानमा अलैँचीका पातमा बसेका बारुलाले चिलेर गतवर्ष उनको आँखाको डिलमा घाउनै भयो ।

अलैँचीका पातमा हुने झुसिलकिरा शरीरमा बसेर चिलाउँदा कन्याएर घाउ पनि हुन्छ । यीमध्ये धेरै समस्या उहाँले भोगिसक्नुभएको छ । अहिलेसम्म सामान्य ढंगबाटै यस्ता समस्याहरु हल पनि भएका छन् । तर उहाँले यस्ता समस्याबाट कसरी बच्न सकिन्छ भनेर कहिल्यै नसोचेको बताउनुभयो । ‘पन्जा, बुट, हेल्मेट, रेनकोट त लगाउँदा हुने हो, तर त्यो पनि अहिले चाँहि लगाइएको छैन,’ उहाँले भन्नुभयोे । अलैँची सुकाउन खगेन्द्रसँग आधुनिक भट्टी छैन ।

पराम्परागत रुपमा बनाइएको भट्टीपनि जंगलमै छ । भट्टी लगाउँदा साता दिनसम्म जंगलमै बस्नुपर्छ । ‘जंगलमा बसेर अलैँची सुकाउदा सर्प, जंगली जनावर चिसो समस्या हुन्छ, तैपनि गर्नैपर्छ,’ उहाँले भन्नुभयो । आधुनिक भट्टीहरु गाउँमा ल्याएर प्रयोग गर्न सकिन्छ र ? भन्ने उहाँको प्रश्न छ । आफुलाई त्यसबारे थाहा नभएको उहाँले बताउनुभयो ।

खोल्सीको कालो सुन उपनामले परिचित पुर्वी नेपालको मुख्य नगदे बाली अलैँचीको बजार भाउमा आइरहने उतार चढावले कतिपय किसान निराश पनि बनेका छन् । तर खगेन्द्र यसवर्षको बजार भाउ एकदमै राम्रो भएको बताउनुहुन्छ । ‘बजारमा आउने समस्या नेपाल सरकारले जिम्मा लिनुपर्छ, किसानलाई प्रतिमन ३० हजार रुपैयाँमात्रै हात लागेपनि घाटा हैन, राम्रो नाफा हुन्छ,’ उहाँ भन्नुहुन्छ । अलैँचीको बजारमा आउने उतार चढावबारे पनि उहाँलाई त्यति थाहा छैन ।

‘व्यापारीले गाउँबाट अलैँची लैजान्छ्न, आफुलाई के थाहा ? सुन्दा औषधी र मसलामा प्रयोग हुन्छ रे भन्छन्,’ उहाँले भन्नुभयोे । जोगीले अहिले १५ रोपनी जमीनमा अलैँची खेती लगाउनुभएको छ । त्यसमध्ये करिब ५ रोपनीमा नयाँ बगान छ भने बाँकी क्षेत्रमा उत्पादन दिन थालेको बगान रहेको छ ।

तपाईको प्रतिक्रिया