तेह्रथुम । गाउँको माटोमा राम्रो उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बिऊ मासिदै जान थालेपछि किसानले गाउँमै बिऊ बैंक स्थापना गर्न थालेका छन् । गाउँमै त्यस्ता उन्नत जातका विऊको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समुहहरु मार्फत बिऊ बैंक स्थापना गरेका हुन् ।

प्रविधिको प्रयोग वढ्दै जाँदा रैथाने जातका विउ विजनसमेत लोप हुन थालेको तथा आधुनिक उन्नत जातको विऊमा समेत किसानको पहुँच नपुगेको भन्दै जिल्लाका गाउँ गाउँमा खुलेका सहकारीले विऊ संरक्षण गर्ने अभियान थालेका छन् । स्थानीय अधिकार कार्यक्रम अन्तर्गत देउराली सोसाइटी र दलित सचेतना समाज नेपालको सहयोगमा गाउँमा खुलेका सहकारीहरुले विऊ बैंक स्थापना गरेका छन् ।

फेदाप गाउँपालिका–२, ओयाक्जुङमा रहेको जनकल्याण सामुदायिक विकास बहुउदेश्यीय सहकारी संस्थाले सामुदायिक विऊ बैंक स्थापना गरेको छ । ०६० सालमा गाउँका किसानलाई संगठित गर्दै ‘हामी स्वयम् हाम्रोa भाग्य निर्माता’ भन्ने नारासहित काम गर्दै आएको सहकारीले विऊ बैंक स्थापना गरी किसानलाई सेवा उपलब्ध गराएको छ ।

बिऊ बैंक स्थापना भएपछि सहकारीमा आवद्ध किसानलाई सहज भएको अध्यक्ष फिरोज सुब्बाले बताउनुभयो । उहाँले भभन्नुभयो, ‘गाउँमा उन्नत जातका विऊ पाइदैनँ, बजारमा किनेर ल्याएको बिऊ पनि राम्रो हुदैनँ, त्यसैले प्राविधिकको सल्लाह बमोजिम अन्यत्र ठाउँबाट उन्नत जातको हावापानी र माटो सुहाउँदो बिऊ खरिद गरी बैंकमार्फत किसानलाई उपलब्ध गराइएको छ ।’ बिऊ बैंकमा २५ वटा भन्दा बढी बिऊहरु उपलब्ध छन् ।

मौषम अनुकुल हुने बिऊहरु खरिद गरी किसानलाई सेवा दिन सहकारीले ५६ हजार रुपैयाँको बिऊ पुँजी कोष खडा गरेको छ । सो सहकारीमा ओयाक्जुङ गाउँका ३० वटा बचत समुहहरु आवद्ध छन् । तीमध्ये पनि धेरै वटा महिला समुह छन् । महिला किसानलाई बिऊ बैंकमा जम्मा भएको बिऊ अझै विशेष छुटका साथ उपलब्ध गराइने गरेको व्यवस्थापन यामप्रसाद ढकालले बताउनुभयो ।

‘आफैँ उत्पादन गरेको बिऊ पनि बेच्नलाई टाढा जानुपर्दैनँ, किसानलाई चाहिएको बिऊ पनि हामी यहीबाट उपलब्ध गराउछौँ,’ व्यवस्थापक ढकालले भन्नुभयो । सहकारीले किसानले माग गरे बमोजिमका बिऊहरु उस्तै–उस्तै हावापानी भएको क्षेत्रबाट खरिद गरी किसानलाई उपलब्ध गराउने गरेको छ । यसरी बिऊ बैंकबाट खरिद गरी रोप्दा नउम्रिने, ढुंसी परेको बिऊ किन्नुपर्ने जस्ता समस्याहरु नहुने गरेको ओयाक्जुङकी देवीमाया ढकालले बताउनुभयो ।

दुई वर्षअघि सहकारीले स्थापना गरेको बिऊ अहिले ओयाक्जुङका धेरै किसानले खरिद गरेर उत्पादन समेत लिन थालिसकेका छन । ‘लोपोन्मुख जातिका बिऊहरु पनि छन्, रैथाने र उन्नत दुवै जातका बिऊ उपलब्ध गराउने लक्ष्य छ,’ सहकारीका उपाध्यक्ष गणेश ढुंगेलले भन्नुभयो । सहकारीले यो वर्ष गाउँका किसानलाई बिऊ बैंकबाट जुनेलो, गहत, बेसार, केराउ, बेलचन, पुरानो धान, अदुवा, लसुन, लगायत २५ बढी प्रजातिका रैथाने तथा उन्नत जातका बिऊ सस्तो मुल्यमा उपलब्ध गराएको छ ।

उता पौठाकको पौठाक बचत तथा ऋण सहकारी संस्थाले पनि विऊ बैंक स्थापना गरेको छ । सहकारी आवद्ध सेयर सदस्य किसानहरुको उत्पादकत्व वृद्धि गराउन सहयोग गर्ने ध्येयले सहकारीले बिऊ बैंक स्थापना गरेको अध्यक्ष तिर्थप्रसाद ढकालले बताए । छथर गाउँपालिकाको ओख्रे स्थित कल्याणकारी महिला कृषक सहकारी संस्थाले पनि विऊ बैंक स्थापना गरी उन्नत जातका विऊ किसानलाई उपलब्ध गराएको छ । जिल्लाका अन्य सहकारीहरुले पनि बिऊ बैंक स्थापना गरी रैथाने र उन्नत दुवै जातका बिऊमा किसानको पहुँच अभिवृद्धि गरी उत्पादकत्व वृद्धि गर्ने अभियान चलाइरहेका देउराली सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर लिम्बुले बताउनुभयो ।

सहकारीले बनाएका ती बिऊ बैंकहरुमा स्थानीय रैथाने तथा उन्नत जातका धनीयाँ, फिलुङगे, रायोको साग, तोरी, बकुल्ला, सिलाम, सिमी, कोदो, मकै, धान, फर्सी, दाल, मास, थाङग्रे सिमी, लसुन, प्याज, काउली, आलु, बेसार, फापर, कांक्रो, करेला, गोलभेडा, टमाटर लगायतका तरकारी, मसला र खाद्यान्न वालीको विउ ल्याएर राख्ने गरिएको छ । त्यस्तो बिऊहरु सिजनमा किसानलाई सस्तो मुल्यमा उपलब्ध गराउने गरिएको हो ।

सहकारीमा आवद्ध नभएका गाउ“का अन्य किसानले समेत आफुले बिऊ लैजाने गरेका छन् भने उनीहरुले उत्पादन गरेको खाद्यान्न, तरकारी र मसला वालीको विउ समेत वैंकमा ल्याएर बिक्री गर्ने गरेका छन् । जसले गर्दा गाउ“मा विउ भण्डारण भएको छ । कुनैपनि जातिको बालीनाली तत्कालै लोप भएर जाने अवस्था छैन । किसानले जुन खेतीबाट बढी उत्पादन हुन्छ भन्ने बुझेर जुनसुकै बाली पनि लगाउन सक्छन् । बिऊ प्राप्त गर्न कुनै समस्या छैन ।

गाउँका सहकारीले थालेको रैथाने बिउ जोगाउने अभियान जिल्लाकै उदाहरणीय काम भएकाले गाउ“पालिकाले समेत सहयोग गरेको छथर गाउ“पालिका अध्यक्ष सन्तविर लिम्वुले वताउनुभयो । गाउ“पालिकाले नीतिगत निर्णय गरेर अन्य सहकारीहरु मार्फत समेत बिऊ बैंक स्थापना गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

विउ वैंक स्थापना गर्दा खडेरी, आगलागी, महामारी, भोकमरी, प्राकृतिक प्रकोप लगायतका आपत् विपत्मा धेरै सजिलो हुने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्यको भनाइ छ । अन्य गाउ“मा समेत यस्ता प्रकोप भएर विउ अभाव हुदाँ त्यहाँ वाट विऊ खरीद गरेर ल्याउन सजिलो हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया