तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले लालीगुराँस नगरपालिकाका ९६ जनालाई नागरिकता वितरण गरेको छ । बसन्तपुर बजारमा दुई दिने नागरिकता वितरण शिविरको आयोजना गरी कार्यालयले ६४ जना महिला सहित ९६ जनालाई नागरिकता वितरण गरेको हो ।

शिविरमा पहिलो दिन ३५ र दोश्रो दिन ६१ गरी कुल ९६ जनालाई नागरिकता प्रदान गरिएको शिविरको नेतृत्व गर्दै जानुभएका सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले जानकारी दिनुभयो । सेवाग्राहीको मागलाई ध्यानमा राख्दै प्रशासनले नागरिकको घरदैलोमै पुगेर सेवा दिने ध्येयले घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको हो । शिविर मार्फत भएपनि नगरपालिकाको केन्द्रबाटै नागरिकता प्राप्त गर्दा स्थानीय नागरिकहरु हर्षित भएका छन् ।

संघीयता कार्यान्वयनको चरणमा रहेको अवस्थामा नागरिकलाई संघीयताको आभाष गराउनका लागि पनि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । अन्य विभिन्न विषयगत सेवाहरु नगरपालिका र गाउँपालिकाबाटै प्राप्त गरेपनि आठराई गाउँपालिका बाहेकका सर्वसाधारणहरु नागरिकता लिन सदरमुकामनै आउनुपर्ने बाध्यता झेलिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले गत फागुन १४ र १५ गते फेदाप गाउँपालिकाको केन्द्रबाट शिविरमार्फत ४१ जनालाई नागरिकता वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया