तेह्रथुम । जिल्ला युवा समिति तेह्रथुमले राष्ट्रिय युवा परिषदको स्थापना दिवसको अवसरमा अन्तरक्रिया गरेको छ ।  स्थापना दिवसको सन्दर्भमा जिल्लामा युवा समितिले गरेका र चालु आर्थिक वर्षमा गर्न लागेका कार्यक्रमहरुबारे अन्तरक्रिया गरेको हो ।

जिल्ला युवा समितिका अध्यक्ष नवीन खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य सचिव कृष्णप्रसाद पोखरेलले जिल्ला युवा समितिको कार्यालयमार्फत चालु आर्थिक वर्षमा हुने गतिविधिको बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा समितिका सदस्य लिलानाथ पोखरेलले कार्यालयबाट गत आर्थिक वर्षमा जिल्लामा भएका गतिविधिको विषयमा जानकारी गराउनुभएको थियो । समितिका पदाधिकारी, सदस्य व्यक्ति तथा संस्थाहरु र सन्चारकर्मी सहभागी कार्यक्रममा समितिका अध्यक्ष खतिवडाले अब युवा समितिको संरचना स्थानीय तहमा समेत बन्ने र गतिविधिहरु समेत स्थानीय तहबाटै सन्चालन हुने बताउनुभयो ।

उहाँले यो वर्षबाट हरेक स्थानीय तहमा युवा समितिमार्फत काम गर्नेगरी ८० हजार रुपैयाँका दरले बजेट विनियोजन समेत भइसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया