तेह्रथुम । जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रमको पुर्वतयारीका लागि विभिन्न उपसमितिहरु गठन भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानको संयोजकत्वमा बनेको मुल समारोह समितिको बैठकले पुर्ण साक्षर जिल्ला घोषणा कार्यक्रमलाई भव्य रुपमा सफल पार्न उपसमितिहरु गठन गरेको हो । तेह्रथुम जिल्लालाई आगामी चैत्र २० गते पुर्ण साक्षर घोषणा गर्ने मिति यसअघि नै तय भइसकेको छ ।

साक्षर जिल्ला घोषणासँगै त्यसको स्मृतिका लागि स्तम्भ समेत निर्माण गरिने भएको छ । स्तम्भ निर्माणका लागि म्याङलुङ्ग नगरपालिकाका उपमेयर पार्वतीसानु डाँगीको संयोजकत्वमा समिति गठन भएको छ । यस्तै साक्षर जिल्ला घोषणा कार्यक्रमका लागि मञ्च व्यवस्थापन, स्वागत तथा सत्कार, विद्यार्थी परिचालन, झाँकी व्यवस्थापन र प्रचार प्रसार उपसमितिहरु समेत गठन भएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।

अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत तेह्रथुम जिल्लामा १५ देखि ६० वर्ष उमेर समुहका मानिसहरुको साक्षरता प्रतिशत ९८ दशमलव ९८ रहेको छ । सोही आधारमा जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्न लागिएको जिल्ला शिक्षा अधिकारी पोखरेलले बताउनुभयो । जिल्लालाई साक्षर घोषणा गर्ने कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो ।

सो कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नु जिल्लाको पहिचान र गरिमासँग जोडिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले साक्षर जिल्ला घोषणाको कार्यक्रमलाई सफल पार्न सबै जिल्लाबासीलाई आव्हान गर्नुभयो । अब घोषणाको पुर्वतयारीका लागि विभिन्न उपसमितिहरुको बैठक बसी काम गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया