काठमाडौं, फागुन २० – पर्साको ठोरी गाउँपालिकाका शिक्षक संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघ ठोरीले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
विद्यालयहरुले विभिन्न शिर्षकमा प्राप्त गर्नुपर्ने रकम तथा शिक्षकहरुले नियमित प्राप्त गर्नुपर्ने तलब गाउँपालिकाले उपलब्ध गराउन नसकेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरुले बताएका छन् । आफूहरुले यस अघि नै गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाई सकेको भए पनि गाउँपालिकाले बेवास्था गरेका कारण आन्दोलनको घोषणा गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका केशवप्रसाद रेग्मीले बताउनुभयो ।
आन्दोलनको कार्यक्रम अनुसार फागुन २१ गते कालो पट्टि बाँधेर पढाउने, फागुन २२ गते चक र मार्कर को प्रयोग नगरी पढाउने, फागुन २३ गते आधा दिन शिक्षण गरी विद्यालय बन्द गर्ने तर ४ बजेसम्म शिक्षकहरु विद्यालयमै बस्ने, फागुन २४ गते हाजिर गरी विद्यालय बन्द गर्ने तथा फागुन २५ गतेसम्ममा आफ्ना मागहरुको सुनुवाइ नभए विद्यालय बन्द गर्नसमेत बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।