तेह्रथुम । तेह्रथुम र संखुवासभाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा निर्माण भइरहेको भ्यू–टावर निर्माणको काम रोकिएको छ ।

भ्यू–टावर निर्माण भइरहेको जमिन तेह्रथुम वा संखुवासभा, कुन जिल्लामा पर्छ ? भन्ने विवाद उत्कर्षमा पुगेपछि भ्यू–टावर निर्माणको काम ठप्प भएको हो ।संखुवासभाको धर्मदेवी नगरपालिकाका जनप्रतिनिधिले टावर निर्माण स्थलको स्थलगत अवलोकन गरी टावर निर्माणको काम ठप्प पार्न निर्देशन दिएका छन् ।

उक्त स्थान लालीगुराँस नगरपालिका–१, मा पर्ने भन्दै गएको वर्ष तेह्रथुमका राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयबासीले भ्यू–टावर निर्माण थालेका थिए । पर्यटन मन्त्रालयको सहयोगमा बन्ने उक्त टावरको सांसद भवानी खापुङ र तत्कालिन प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।

तर अहिले भ्यू–टावर निर्माण भइरहेको जमिन संखुवासभामा पर्ने र सो योजना संखुवासभाले पाउनुपर्ने माग गर्दै संखुवासभाका जनप्रतिनिधिले काम अवरुद्ध गरेको स्थानीयबासीले बताएका छन् ।

भ्यू–टावर निर्माण र जमिनभन्दा पनि जनप्रतिनिधिको आँखा भ्यू–टावर बनेपछि आउनसक्ने रोयल्टीमा गएको छ । संखुवासभाको धर्मदेवी नगरपालिकाका जनप्रतिनिधिले भ्यू–टावर बनिरहेको भूगोल आफ्नो भएको र सो भ्यू–टावर बनेपछि त्यसबाट हुने आम्दानी आफ्नो हुनुपर्ने दाबी गरेका छन् ।

यता तेह्रथुमको लालीगुराँस नगरपालिकाले पनि आफ्नो भूगोल भएको दाबी गर्दै आएको छ । लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले भूगोल जसको भए पनि यो क्षेत्रको पर्यटन विकाससँग जोडिएको सो भ्यू–टावर निर्माणको काम रोक्न नहुने बताउनुभयो । उहाँले भ्यू–टावर निर्माणले दुई वटै जिल्लाको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

भूगोलको विषयमा नापी लगाएर विवादलाई टुग्याउन आफूहरु तयार रहेको मेयरले बताउनुभएको छ । उता धर्मदेवी नगरपालिकाका मेयर रमेश जिमीले भने भ्यू–टावर संखुवासभाको भूगोलमा बनाएर तेह्रथुमेले झुक्याएको बताउनुभयो । कुल लागत २ करोड १३ लाख रुपैयाँ रहेको भ्यू–टावर निर्माण कार्य एक वर्षभित्र सक्ने गरी पर्यटन मन्त्रालयले गएको वर्षको माघमा ठेक्का लगाएको थियो ।

तर सीमा विवादले भ्यु–टावर निर्माणको कामले गति लिएको छैन । चार तलाको हुने भ्यु–टावरको पहिलो तलामा सूचना केन्द्र, दोश्रो तलामा खुद्रा पसल, तेस्रो तलामा क्याफे र चौथो तलामा भ्यु प्वाइन्ट बनाइने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया