तेह्रथुम । जिल्ला प्रशासन कार्यालयले फेदाप गाउँपालिकाका ४२ जनालाई घर गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । सेवाग्राहीको मागलाई ध्यानमा राख्दै प्रशासनले फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङमा आइतबार र सोमबार नागरिकता वितरण शिविरको आयोजना गरी नागरिकता वितरण गरेको हो ।

आइतबार र सोमबार भएको शिविरमा फेदाप गाउँपालिकाका ४२ जनाले नागरिकता लिएका छन् । शिविरबाट ४२ जनाले नागरिकता लिएका शिविरमा खटिएका सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताउनुभयो । अहिलेसम्म नागरिकता नलिएकी फेदाप गाउँपालिका–१, सिम्लेकी ६४ वर्षीय धनमाया लिम्बुले पनि घर नजिकैको वडा कार्यालयबाटै नागरिकता प्राप्त गर्नुभएको छ ।

शिविर मार्फत भएपनि गाउँपालिकाको केन्द्रबाटै नागरिकता प्राप्त गर्दा स्थानीय नागरिकहरु हर्षित भएका छन् । संघीयता कार्यान्वयनको चरणमा रहेको अवस्थामा नागरिकलाई संघीयताको आभाष गराउनका लागि पनि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो ।

अन्य विभिन्न विषयगत सेवाहरु नगरपालिका र गाउँपालिकाबाटै प्राप्त गरेपनि आठराई गाउँपालिका बाहेकका सर्वसाधारणहरु नागरिकता लिन सदरमुकामनै आउनुपर्ने बाध्यता झेलिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले फागुन १८ र १९ गते लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुरमा पनि दुई दिने नागरिकता वितरण शिविर आयोजना गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया