तेह्रथुम । जिल्लाको फदाप गाउँपालिका–१, सिम्लेस्थित बालमकर माविमा एक समाजसेवीले पुस्तकालय स्थापना गरिदिएका छन् । विद्यालयको संस्थापक सदस्य समेत रहेका फेदाप गाउँपालिका–१, सिम्ले स्थायी घर भई हाल काठमाडौँ बस्ने लक्ष्मीसुन्दर निङ्लेकुले आफ्नी स्वर्गीय आमा जोगमाया निङ्लेकुको स्मृतिमा ‘आमा पुस्तकालय’ स्थापना गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
निङ्लेकुले स्व.बुवा आमाको स्मृतिमा विद्यालयलाई दुई थान कम्प्युटर र नगद ५० हजार रुपैयाँ समेत सहयोग गर्नुभएको छ । विद्यालयको शैक्षिक उन्नयनमा सहयोग पु¥याउने उदेश्यले निङ्लेकुले पुस्तक खरिद गरी पुस्तकालय स्थापना गरिदिएको बताउनुभयो । उक्त पुस्तकालयमा विद्यार्थीहरुलाई पठन पाठनसँगै अतिरिक्त ज्ञानका लागि भुगोल, इतिहास, साहित्य, सामान्य ज्ञान, खेलकुद र चित्र कथा लगायत पुस्तकहरु राखिएका छन् ।
निङलेकुले स्व.बुवा कृषिप्रसाद र स्व.आमा जोगमायाको स्मृतिमा विद्यालयलाई सहयोग गरेको बताउनुभयो । उहाँले विद्यालयलाई पुस्तकालय, कम्प्युटर र नगद सहयोग गरेका विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । सो विद्यालयमा कक्षा–१० सम्म पठन पाठन हुने गरेको छ । गाउँपालिकाले कम्प्युटर शिक्षाका लागि कम्प्युटर शिक्षक नियुक्ति गरी सहयोग गरेको भएपनि कम्प्युटर नहुँदा पठन पाठन गर्न नसकिरहेको अवस्थामा विद्यालयलाई कम्प्युटर प्राप्त हुँदा सहयोग पुगेको प्रधानाध्यापक थापाले बताउनुभयो ।