तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–४ स्थित चित्रेबजारमा प्रहरी बिट स्थापना भएको छ । चित्रेबजार व्यवस्थापन समितिको सक्रियतामा निर्माण भएको सो प्रहरी बिटको विहीबार जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले उद्घाटन गर्नुभएको छ ।
तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा रहेको चित्रेबजार तेह्रथुम प्रवेश गर्ने मुख्य नाका हो । तरकारी लगायत बस्तुहरुको निकासी हुने यो बजार सुरक्षाको हिसावले संवेदनशील रहेको भन्दै सुरक्षा समितिले प्रहरी बिट स्थापना गरेको हो । प्रहरी बिट स्थापना भएपछि चित्रे बजार क्षेत्रको सुरक्षा व्यवस्थाका लागि सहज भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रमुख प्रहरी निरीक्षक गणेश कोइरालाले बताउनुभयो । प्रहरी बिट निर्माण भएपछि यो क्षेत्रको सुरक्षामा खटिने प्रहरीहरुलाई सजिलो हुने भएको छ ।
बिट नहुँदा यसअघि यहाँ कार्यरत प्रहरीहरुले सडकमै बसेर ड्युटी गर्नुपर्ने बाध्यता रहेको थियो । वर्षा र झरी बादलको समयमा बिट निर्माणले सहयोग पुगेको छ । उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी राजन भुजेल, शशस्त्र प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक लक्ष्मण केशी लगायत सुरक्षा निकायका प्रतिनिधिहरुको टोली चित्रेबजार पुगेको थियो । जिल्ला सुरक्षा समितिले चित्रेबजारमा प्रहरी बिट निर्माणका लागि गत साउन १२ निर्णय गरेको थियो ।