तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–१, पोक्लाबाङकी मेनुका खनाल कार्कीले तिम्ल्याहा सन्तान जन्माउनुभएको छ । उहाँले सामान्य प्रसुति सेवाबाटै तिम्ल्याहा सन्तान जन्माउनुभएको हो । पोक्लाबाङ स्थित सिम्ले स्वास्थ्य चौकीमा सामान्य प्रसुतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
मेनुकाले सामान्य प्रसुति सेवाबाटै एकै पटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्य चौकीका इन्चार्ज देउकुमार राईले बताउनुभयो । सात महिना १२ दिनमै जन्मिएका तीन वटै बच्चाको तौल भने निकै कम छ । तौल कम भएकै कारण उनीहरुलाई बचाउन मुस्किल हुने देखिएको राईले बताउनुभयो ।
पहिलो बच्चाको तौल १ दशमलव ८ केजी रहेको छ भने दोश्रो र तेश्रोको १ दशमलव ६ केजी रहेको छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तिमा पनि २ दशमलव ५ केजी हुन्छ । तौल स्वस्थ राख्न इन्कुभेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पु¥याउनु जरुरी हुन्छ ।
बच्चाहरुलाई जिल्लाबाहिर लैजान स्वास्थ्यचौकीले रेफर गरिसकेको छ । तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण जिल्लाबाहिर लैजान नसकेको मेनुकाका श्रीमान् दिलबहादुर कार्कीले बताउनुभयो । संखुवासभाको मादी स्थायी घर भई दुई वर्षदेखि यहाँ तरकारी व्यापार गर्दै आउनुभएका कार्कीको यसअघि एउटा पनि सन्तान बाँचेका छैनन् ।